"मुख्यमन्त्री कप" अन्तर्गत क्रिकेट र फुटबलका खेल आजदेखि शुरु

"मुख्यमन्त्री कप" अन्तर्गत क्रिकेट र फुटबलका खेल आजदेखि शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन गइरहेको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगिताको तयारी भएको छ । बुधबार देखि क्रिकेट र फुटवल प्रतियोगिता शुरु हुने छ ।  
प्रतियोगिता अन्तरगत सबै तराी पुरा भएको सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । बुधबार शुरु हुने क्रिकेट प्रतियोगितामा महिला टीमले संघीय प्रहरी इकाई कार्यालयको मैदानमा र पुरुष टीमले फाप्ला मैदानमा प्रतिष्पर्धा गर्ने छन् । फुटबल प्रतियोगिता प्रादेशिक रंगशालामा आयोजना हुने छ । फुटबल  र क्रिकेट प्रतियोगितामा भाग लिन सबै प्रदेशका खेलाडीहरु धनगढी पुगिसकेको आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालका अनुसार प्रदेश नम्बर ३ को फुटबल टीम छनौटमै रहेकोले सो टोली ३० गते मात्रै धनगढी पुग्ने छ । 
प्रतियोगिताको औपचारिक उद्घाटन चैत १ गते प्रतिनिधि सभामा सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगता अन्तरर्गतका खेलहरु भलिबल, र ब्याडमिन्टनका खेल चैत १ गतेबाट नै शुरु हुने छन् । प्रतियोगिता अन्तर्गत खेलाइने खेलहरुको लागि पूर्वाधार निर्माण तर्फ सम्पूर्ण तयारी अन्तिम पुरा भएको मन्त्रालयले जनाएको छ । मुख्यमन्त्री कप प्रतियोगिता अन्तर्गत खेलाइने भलिबल प्रतियोगिताका लागि कोर्ट बनाउने काम सम्पन्न भएको छ । पुरुष भलिवल प्रतियोगिताका लागि कोर्ट तयारी अवस्थामै रहे पनि महिला भलिबलका लागि नया कोर्ट बनाइएको छ । 
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा सचिव हमालले प्रतियोगितामा भाग लिने प्रदेश नम्बर २ को टोलीमा पुरुष खेलाडीहरु मात्रै आएको र महिलाहरुले आफु पनि सहभागी हुन पाउनुपर्ने माग गरेपछि उनीहरुको सहभागिता पर्खेर खेल तालिका नबनाइको बताउनुभयो । उहाँले प्रदेश नम्बर २ को महिला खेलाडी सहभागी हुने नहुने जानकारी आएपछि राति नै खेल तालिका बनाएर भोली बिहानबाट फुटवल र क्रिकेट प्रतियोगिता शुरु हुने बताउनुभयो । 
पत्रकार सम्मेलनमा मन्त्री सुवेदीले प्रतियोगितालाई सशक्त बनाउन पत्रकारहरु भूमिका महत्वपूर्ण रहने बताउनुभयो । मन्त्री सुवदीले आर्थिक पारदर्शितामा मन्त्रालय एकदमै चनाखो रहेको र भ्रष्टाचारको शंका लागेमा पत्रत्रकारहरुले समाचार लेखेर आफुलाई सहयोग गर्न आग्रह गर्नुभयो । खेलकूद प्रतियोगिता सञ्चालन गर्नका लागि पार्टीका कार्यकर्ता राखिएको भन्ने कुरा निराधार रहेको भन्दै क्षेत्रीय र जिल्ला खेलकूद विकास समितिलाई प्रतियोगिताको जिम्मेवारी दिइएको मन्त्री सुवेदीले बताउनुभयो । 
मुख्यमन्त्री कपमा सबैभन्दा धेरै स्वर्णपदक जित्ने प्रदेशलाई १५ लाख नगद सहित कप प्रदान गरिने छ । यस्तै हरेक खेलको स्वर्ण पद बिजेता खेलाडीले नगद १० हजार रुपैया पुरस्कार पाउने छन् ।