अमेरिकाको एउटा सहर जहाँ बाख्रो बन्यो मेयर

अमेरिकाको एउटा सहर जहाँ बाख्रो बन्यो मेयर

अमेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो ।

टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो । १६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर, बिरालोलगायतका अन्य जनावर प्रत्यासीहरुलाई पछि पार्दै लिंकन बाख्रोले मेयर पदमा चुनाव जितेको थियो ।

मतदानका क्रममा लिंकनले १३ भोट प्राप्त गर्यो । जबकि, निकटतम प्रतिद्वन्द्वी स्याम्मी नामको कुकुरले १० भोट पायो । अन्य सबै उम्मेदवारले पाएको कूल भोट ३० थियो ।

मेयरको पदमा रहुन्जेल लिंकनले सहरमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ । फेयर ह्याभेन सहरमा करिब २५ सय मानिस बस्दछन् । सहरमा कुनै पनि मानव मेयर छैन ।

सहर व्यवस्थापकका अनुसार नर्थ मिसिगनमा केही समयअघि यस्तै घटना भएको थाहा पाएर उनीहरुले बाख्रोलाई मेयर बनाएका हुन् । उनका अनुसार स्थानीय खेल मैदान निर्माणको लागि कोष जम्मा गर्न यो उत्कृष्ट तरिका हुन सक्दछ ।