कैलालीमा हतियारसहित तीनजना पक्राउ

कैलालीमा हतियारसहित तीनजना पक्राउ

धनगढी । कैलालीमा हतियारसहित ३ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर कैलालीको कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो  । 

प्रहरीले उनीहरुबाट एक थान बारबोर बन्दुक र ५ कार्तोस गोली बरामद गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोली जंगल आसपासको क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।