यी हुन् इथियोपिया विमान दुर्घटनामा मृत्यु भएका नेपाली

यी हुन् इथियोपिया विमान दुर्घटनामा मृत्यु भएका नेपाली

काठमाडौं । इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भएको छ । सो विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा पर्दा १५७ जना मृत्यु भएको थियो । जसमा एक जना नेपाली पनि परेको सार्वजनिक भएको थियो ।

सो दुर्घटनामा मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छन् । उनी इथियोपियाको अदिस अबाबास्थित डब्लूएफपी कार्यालयमा कार्यरत थिइन् । उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन सो विमानमार्फत नैरोबी जाँदै गरेको डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले बताएका छन् ।


दुर्घटनाग्रस्त सो विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख भएपनि मृतकको विवरण भने सार्वजनिक गरिएको थिएन ।

सो कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने तयारीमा रहेका एक नेपालीले भने टिकटमा भएको ढिलाइका कारण आफू जोगिएको बताएका छन् । ती नेपाली हुन् साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी । उनले फेसबुक मार्फत सोही विमानमार्फत आफू सयुंक्त राष्ट्र संघको वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेको र टिकटमा भएको ढिलाइका कारण जोगिएको बताएका छन् ।

उनले लेखेका छन् – म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ’लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिएँ । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिए म अर्को पटक बाँचे । साथमा दान मामा होइसिन्थ्यो ।

फेरी ढाडस दिँदै केही आफन्त र सुभेच्छुकहरुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञता प्रकट गर्छु । जानु पर्ने तर गैइएन भनेर माधव नेपालज्यूलाई जानकारी थियो । सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लाएक रह्यो ।’

सो विमान दुर्घटनामा एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको बताइएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।