देशमा पृथकतावादी आन्दोलन समाप्त भयाे: प्रधानमन्त्री ओली

देशमा पृथकतावादी आन्दोलन समाप्त भयाे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सिके राउत मूलधारको राजनीतिमा आएसँगै देशमा पृथकतावादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको बताउनुभयो ।

सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा आउनु र ल्याउन देशको सुशासन र विकासका लागि सफलता नभए के हो ?’

प्रधानमन्त्री ओलीले सिके राउत मूलधारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गर्नुभयो । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सिके राउत मूलधारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दैै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग पनि तुलना गर्नुभयो ।