एक युवतीका तीन ब्वाईफ्रेन्ड र प्रेम सम्भव छ ?

एक युवतीका तीन ब्वाईफ्रेन्ड र प्रेम सम्भव छ ?

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौर-तरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनलाइनले एक लेख प्रकाशित गरेको छ, जसले युवापुस्तामा ‘मल्टिपल लभ’को ट्रेन्ड कसरी विकास हुँदैछ भनेर उल्लेख गरिएको छ ।

त्यहाँ लेखिएको छ, ‘२४ बर्षकी गरिमा तीन युवासँग एकसाथ प्रेम गर्छिन् । अर्थात उनीसँग अहिले तीन जना ब्वाइफ्रेन्ड छन् । रमाइलो त के भने, यी तीन ब्वाइफ्रेन्डले एकअर्कालाई चिन्छन् र यस सम्बन्धलाई उनीहरुले सहज मानेका छन् ।

अब प्रश्न उठ्छ कि एक युवतीले एकसाथ तनि युवासँग प्रेम गर्न सक्छन् ?

गरिमाले यसको जवाफ ‘सक्छ’मा दिएकी छिन् ।’

भनिन्छ प्रेम र युद्धको कुनै सीमा हुँदैन । कुनै नियम हुँदैन । कुनै सूत्र हुँदैन । एक जना युवाले एक जना युवतीसँग मात्र प्रेम गर्छ वा प्रेममा एकल सम्बन्ध मात्र स्थापित हुन्छ भन्ने शैली अहिले फेरिएको प्रमाण हो यो ।

त्यसो त अहिलेका पुस्तावीच हुने प्रेममा भावनात्मक भन्दा बढी शारीरिक हुने गरेका छन् । बाहिरी आकर्षणलाई नै प्रेम भनेर बुझिरहेका यी पुस्ता प्रेम पछि शारीरिक सम्बन्धसम्म पुग्ने गर्छन् । त्यसपछि भने उनीहरुको प्रेम दिगो रहँदैन ।

यही ढंगको प्रेम-चक्करमा फन्को लगाइरहेका थुप्रै युवायुवती अनेकन समस्यामा पनि फसिरहेका छन् । अनिच्छित गर्भ रहने, अवैंधानिक गर्भपतन गराउने जस्ता कुरामा उनीहरु फस्ने गरेका छन् । पछिल्लो समय युवापुस्ताको चिन्ता, डिप्रेसन र आत्महत्याको पछाडि पनि उनीहरुको कच्चा प्रेम सम्बन्ध नै कारण बन्ने गरेको देखिन्छ ।

हुन त के भनिन्छ भने, प्रेम गरिदैन । यो आफै हुन्छ । अर्थात स्वतस्फूर्त रुपमा प्रकट हुने भावनात्मक संवेग हो प्रेम । त्यसैले प्रेम चाहेर गरिने वा चाहेर छुटाइने कुरा पनि भएन । तर, वैशालु जोडीबीच हुने प्रेम भावनाबाट प्रकट भएर होइन, शारीरिक आकर्षणबाट हुनेगर्छ । यस किसिमको प्रेम-सम्बन्ध बढाउनुको पछाडि उनीहरुमा अनेक स्वार्थ र उदेश्य हुनेगर्छ ।

कतिपयले देखासेखीमा यस्ता सम्बन्ध बनाउँछन् । कतिपयले शारीरिक आवश्यक्ता परिपूर्तिका लागि सम्बन्ध बनाउँछन् । यसरी प्रेम सम्बन्ध बनाउने क्रममा उनीहरु एउटै साथीमा मात्र सीमित नहुन सक्छन् । एकसाथ दुई वा तीन जनासँग पनि प्रेम सम्बन्ध बनाउन सक्छन् ।

बिबिसीमा लेखिएको छ, ‘खासगरी यस किसिमको सम्बन्धलाई उनले ‘पोलिएमरस रिलेशनशिप’ भनेकी छिन् । यस किसिमको सम्बन्धको चलनलाई पोलिएमरी नामले जानिने रहेछ ।

के हो पोलिएमरस रिलेशनशिप ?

उक्त लेखमा जनाइए अनुसार पोलिएमरी ग्रीक र ल्याटिन भाषाको दुई शब्द मिलेर बनेको छ । पोली ग्रीक र एमर ल्याटिन भाषा हो । पोलीको अर्थ एकभन्दा बढी हो भने एमोरको अर्थ प्रेम हो । अर्थात एकै समयमा एक भन्दा बढी व्यक्तिसँग प्रेम गर्ने चलन ।

यस किसिमको सम्बन्ध स्थापित गर्दा प्रेमी-प्रेमिकाबीच केही सर्त र सीमाहरु लागु हुन्छ । यसको सबैभन्दा ठूलो र जरुरी सर्त हो, सम्बन्धमा इमान्दरी र पारदर्शिता । यस सम्बन्धमा सामेल हरेक पार्टनरले एकअर्कालाई राम्ररी चिन्दछन् । सबैको सहमतिमा नै यस किसिमको सम्बन्ध बनान्छ ।

गरिमा र उनका प्रेमीको कथा

गरिमाले आफुले कसरी यस किसिमको सम्बन्ध बनाउन पुगें भनेर लेखेकी छिन् । उनकै भाषामा-

म करिब १३-१४ बर्षकी थिएँ, जब मेरो पहिलो प्रेम भयो । हामी दुबै एकअर्कासँग खुसी थियौं । सबै ठिकठाक चलिरहेको थियो । म अरुसँग पनि आकषिर्त हुन थालें । साथै म आफ्नो पार्टनरलाई पनि छाड्न चाहन्नथे । तर, यस्तो कसरी संभव थियो कि एक युवतीको दुई ब्वाईफ्रेन्ड ?

किशोरावस्थाका केही बर्ष मेरो एकदम झर्कोलाग्दो र समस्याग्रस्त थियो । म गंभीर ‘आइडेन्टिटी क्राइसिस’ (पहिचानको संकट)सँग जुधिरहेकी थिएँ । मलाई नजिकबाट चिन्नेहरुले मलाई ‘चरित्रहीन’को ट्याग भिराइदिए । कतिले भने कि, मलाई ‘सेक्स’को लत छ र मैले मनोचिकित्सककहाँ जानुपर्छ ।

म परामर्शदाताकहाँ पुगें । उनले मलाई निकै राम्ररी सम्झाउने प्रयास गरे । साथै उनले के प्रश्न गरे भने, कुनै युवकले कसरी स्विकार गर्छ कि उसको गर्लफ्रेन्डको अरु पनि ब्वाइफ्रेन्ड छ भनेर ? उनको कुराले पुन मलाई ग्लानीबोध भयो ।

यसबीचमा म पढाईका लागि विदेश गएँ । त्यहाँको महौललाई म बुझ्न थालें, जसले मलाई केही सहज महसुष गरयो । त्यहाँ मैले आधुनिक सम्बन्ध, सेक्स र क्रान्तिबारे केही किताब पढें । त्यहाँ मैले म जस्तै अरु केही साथीहरु पनि भेटें । उनीहरु यस किसिमको सम्बन्ध सहजै स्विकार गर्थे र त्यसमा कुनै ग्लानी अनुभव गर्दैनथे ।

क्रमस मबाट पनि ग्लानी र लाज हट्दै गयो ।

साथी त मिल्यो तर………..

विदेशमा नै मलाई एक साथी मिल्यो । उनी उमेरले मभन्दा धेरै पाको र समझदार थियो । मैले उनीसँग आफ्नो स्वभावको बारेमा खुलेर कुरा गरें । उनले भने कि उनलाई मेरो विचार र जिन्दगी जिउने तरिकाबाट कुनै अप्ठ्यारो हुनेछैन ।

हामी एकअर्कासँग प्रेम गथ्र्यौं । हामी पूर्ण आनन्दका साथ जिन्दगी जिउन थाल्यौं । तर ति सबैकुरा बद्लियो, जब म कुनै अरुको नजिक पर्न थालें । मेरा ति साथी सैद्धान्तिक रुपले त ‘पोलिएमरी’मा सहमत थिए, तर जब यो व्यवहारिक रुपमै यस्तो सम्बन्ध बनाउनुपर्ने भयो, उनले यसलाई स्विकार्न सकेनन् ।

उनले मलाई भन्न थाले कि, ‘मेरो प्रेममा कुनै कमी थियो ? के हाम्रो सम्बन्ध यति कमजोर थियो ? के हाम्रो सेक्स लाइफ राम्रो थिएन ? जसले गर्दा तिमी अरुप्रति आकषिर्त भयौ ?’

तर, मैलें आफ्नो स्वभावबारे उनलाई पहिले नै स्पष्ट रुपमा भनिसकेकी थिएँ । त्यसैले उनलाई सम्झाउनका लागि कुनै आवश्यक्ता थिएन । यसरी हामी एकअर्काबाट विस्तारै टाढियौं ।

जब म सक्षम छु भन्ने लाग्यो

म भारत फर्किएँ । यतिबेलासम्म मसँग पालिएमरीको सम्बन्धमा पुरा जानकारी थियो । त्यसपछि मैले यसबारे अरु थप जानकारी लिने एवं रिसर्च गर्ने विचार गरें ।

समय वित्दै गएपछि मलाई थाहा भयो कि भारतमा पनि थुप्रै युवा पालिएमरस छन् । अहिले म व्यक्तिगत रुपमा कम्तिमा सय जना यस्तै साथीहरुलाई चिन्छु, जो स्वयम्लाई पोलिएमरस मान्छन् । उनीहरुले सोशल मिडियामा यसको खुलेर समूह बनाएका छन् र सपोर्ट ग्रुप बनाएका छन् ।

फेसबुकमा पनि एक क्लोज्ड ग्रुप छ ‘बेंगलुरु पोलिएमरी’ । यो ग्रुप पोलिएमरस व्यक्तिका लागि मिटिङ, गेट टुगेदर र स्पिड डेटिङ जस्ता कार्यक्रम आयोजना गर्छन् ।

म पनि उनीहरुको यस्तै एक इभेन्टमा गएको थिएँ त्यहाँ मलाई निकै रमाइलो लाग्यो । मलाई लाग्यो कि म एक्लो छैन ।

फेरि प्रेम भयो

यसै क्रममा एक डेटिङ एपको माध्यामबाट म अर्को पुरुषसँग सम्बन्धमा रहें । केही भेटघाटपछि मैले उनलाई आफ्नो स्वभावको बारेमा सबै बताइदिएँ । हामीले के तय गर्‍यौं भने यस किसिमको सम्बन्ध पुरा इमान्दारी र कुनै दबाव विना बिताउनेछौं ।

हामीले प्रेम सम्बन्ध गाँसेको ६ महिनापछि म अर्को युवाको प्रेममा परें । म उनीसँग डेट गर्न चाहन्थें । मैले यो कुरा पूर्व प्रेमीलाई सुनाए र उनकै सहमतिमा म दोस्रो युवासँग डेट गर्न थाले । उनको र मेरो शारीरिक सम्बन्ध पनि भयो । यो कुरा मैले अघिल्लो प्रेमीलाई सुनाएँ ।

मेरो कुरा सुनेर उनी दुःखी नभएका होइनन् । तर, उनले आफुलाई सम्हाले र शालिन ढंगले आफ्नो कुरा व्यक्त गरे । मलाई थाहा थियो, उनले हामीवीचको सम्बन्ध तोड्ने छैन । पछि ऊ मेरो दोस्रो ब्वाइफ्रेन्डसँग पनि भेट्न गयो ।

केही समयपछि मलाई तेस्रो युवा मनपर्न थाल्यो । मैले उनीसँग पनि निर्धक्क आफ्नो सम्बन्ध बढाएँ । सोझै भन्ने हो भने, यतिबेला मसँग एकसाथ तीन ब्वाईफ्रेन्ड थियो । यी तीन जना ब्वाईफ्रेन्डले एकअर्कालाई चिन्छन् ।

तर, पोलिएमरस हुनुको सबैभन्दा अप्ठ्यारो चाहि के भने, हामीसँग सबैलाई दिने समय एकदम कम हुन्छ । सबैसँग समान रुपमा सुमधुर सम्बन्ध कायम राख्न निकै मुश्किल हुन्छ । म एक होइन, तीन तीन जनासँगको सम्बन्ध सम्हाल्छु । यी सबैसँग समय व्यवस्थापन गर्नु त्यती सजिलो छैन ।

म चरित्रहिन होइन

मैले आफ्ना आमाबुवालाई भनेकी छु कि, म पोलिएमरस हुँ । उनीहरुले मलाई केही हदसम्म स्विकार गरेका छन् । तर, उनीहरुलाई यसबारे त्यती गहिरो ज्ञान छैन ।

मेरो पहिलो ब्वाईफ्रेन्डलाई लिएर उनीहरु सहज छन् । ऊ हाम्रो घरमा सहज आउजाउ पनि गर्छन् । तर, बाँकी दुई पार्टनरसँग भने मेरो परिवार त्यती सहज छैनन् । म उनीहरु दुईजनाको बारेमा त्यती कुरा पनि गर्दिन ।

तर, यदि तपाईं विवाहको बारेमा सोध्नुहुन्छ भने म विवाह भन्ने संस्थाकै विरुद्धमा छु । मलाई लाग्छ कि यो एक पितृसतात्मक संस्था हो र यसको आधार सामाजिकभन्दा केही बढी आर्थिक छ । यदि मलाई धेरै दबाव दिइयो र विवाह गर्नैपर्ने भयो भने पहिलो ब्वाईफ्रेन्ड नै रोज्नेछु ।

मलाई बुझ्नेहरुले ठान्छन् कि म चरित्रहीन हुँ । यसले मलाई केही फरक पर्नेवाला छैन । यदि कोही यसबारे मसँग तर्क गर्छ भने म भन्छु कि, ‘मलाई अलग-अलग युवासँग सम्बन्ध बनाउन रुची लाग्छ त के गरौं ?’

ब्वाईफ्रेन्ड यसबारे के सोच्छन् ?

यी युवतीकी ब्वाईफ्रेन्डको नाम मिहिर हो । मिहिरले पनि बीबीसीसँग कुराकानी गरेका रहेछन् । मिहिरका अनुसार उनकी गर्लफ्रेन्ड गरिमा पूर्ण इमान्दार छिन् । उनले गरिमाबाट कुनै कुरा लुकाउन परेको छैन । उनले गरिमालाई जुनसुकैबेला परीक्षण गर्न सक्छन् ।

मिहिरले भनेका छन्, ‘गरिमा एकदम समझदार र बुद्धिमान छिन् । उनी खुला छिन् । सुरुमा उनको कुरा सुनेर मलाई केही असहज लागेको थियो । उनले मभन्दा अरु राम्रो केटा भेट्यो भने मलाई छाड्छ भन्ने लागेको थियो, तर त्यसो भएन । उनी सधै मेरो साथमा रहिन् ।’

मिहिरको परिवारले गरिमालाई चिन्छ ?

यसको जवाफमा मिहिर भन्छन्, ‘गरिमा मेरी गर्लफ्रेन्ड हुन् भनेर मेरो परिवारलाई थाहा छ । तर उनीहरुलाई मैले गरिमा पोलिएमरस हुन् भनेर भनेको छैन । किनभने मैले यो कुरा बताएँ भने उनीहरुले यसलाई स्विकार्ने छैनन् । तर मेरा नजिकका साथीहरुलाई यो कुरा थाहा छ ।’

मिहिरका अनुसार पोलिएमरस सम्बन्धमा सबैभन्दा ठूलो चुनौती भनेको कुराकानी हो । कतिपय आफ्नो पार्टनर यति व्यस्त हुन्छन् कि उनीसँग कुराकानी गर्न नै पाइदैन । यस सम्बन्धको सुन्दर पक्ष चाहि दुबै पारदर्शी र इमान्दार । आफ्नो पार्टनरलाई कुनै कुरा लुकाउन जरुरत छैन ।

पोलिएमरी जन्मजात प्रवृत्ति कि मनोमानी रोजाई

यस विषयमा विशेषज्ञका अलग अलग राय छ ।

सेक्स, प्रेम र मान्छेको इच्छाबारे चर्चा गर्ने परियोजना ‘एजेन्ट अफ इश्क’का अगुवाई गर्ने परोमिता वोहरा भन्छिन्, ‘समाजशास्त्रीका अनुसार मान्छेमा पोलिएमरी अर्थात एकभन्दा बढी पार्टनर राख्ने बानी जन्मजात हो । पछि सामाजिक नियमले मान्छेलाई बाँध्दै लग्यो र उनीहरु सामाजिक नियममा बाँधिए । एक पार्टनरलाई एक जनासँग मात्र सम्बन्ध राख्ने सामाजिक मान्यता बनाइयो ।’

उनी के भन्छिन् भने एक जनासँग प्रेम सम्बन्ध राख्नु वा एक जनासँग मात्र जीवन बिताउनु सामाजिक प्रचलन हो । यो खराब होइन । तर, जब उनीहरुको सम्बन्ध रसिलो छैन भने जबरजस्ती झुठो सम्बन्धमा बाधिएर बस्न बाध्य हुन पनि राम्रो हौइन । हामी जहिले पनि खुम्चिएर वा झुट बोलेरै जीवन बिताइरहेका हुन्छौं । पोलिएमरीले कम्तीमा यस्तो झुटो सम्बन्धमा खुम्चन बाध्य बनाउँदैन ।’

के भन्छ सामाज विज्ञान ?

तमाम शोधकर्ता दावी गर्छन् कि मानिस स्वभावैले ‘मोनोगमस’ -एकजना पार्टनरसँग सम्बन्ध राख्ने होइन । यस्तो एकदम कम हुन्छ कि जब कुनै व्यक्ति एक जनासँग मात्र जीवनभर चित्त बुझाएर बस्छन् । यस सम्बन्धमा अमेरिकी लेखक क्रिस्टोफर रायनले केही पुस्तक समेत लेखेका छन् ।

उनको अनुसार मान्छे एक मोनोगमस प्राणीको रुपमा विकास भएका हुँदै होइनन् ।

युनिभर्सिटी अफ वाशिङटनका प्रोफेसर डेभिड पि बै्रशका अनुसार मोनोगैमी अर्थात एकै पार्टनर राख्ने प्रथा बर्तमानको हो । विगतमा एकसाथ केही पार्टनरसँग सम्बन्ध बनाउनुलाई अनौठो नमानिने उनको भनाई छ । प्रोफेसर बै्रशका अनुसार मानिस स्वभाविक रुपले मोनोगमस होइनन् तर यसको मतलब यो होइन कि मनोगोगैमी अप्राकृतिक हो । बीबीसीबाट