रेशम चौधरीको सांसद पद गुम्ने

रेशम चौधरीको सांसद पद गुम्ने

प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएसँगै उनको सांसद पद गुम्ने भएको छ ।

नेपालको संविधानको दफा ८७ मा नैतिक पदन देखिने फौजदारी कसूरमा सजाय पाएका व्यक्ति प्रतिनिधिसभा सदस्यका लागि अयोग्य हुने उल्लेख छ । 

चौधरीलाई कैलालीले टीकापुरमा २०७२ भदौ ७ गते भएको हत्याकाण्डको मुख्य अभियुक्त भन्दै अदालतले जन्मकैदको फैसला सुनाएसँगै उनको सांसद पद गुम्ने भएको हो ।  

चौधरीलाई मुलुकी ऐन ज्यानसंम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद हुने फैसला अदालतले सुनाएको हो । 

चौधरीले निर्वाचित भएको एक वर्षपछि गएको पुस १९ गते संसदको सपथ लिएका थिए । हत्या आरोपमा जेलमै रहेका चौधरीलाई राष्ट्रिय जनता पार्टीको दबाबमा सरकारले सपथको वातावरण बनाएको थियो । 

सपथ लगत्तै पुनः जेल गएका चौधरीलाई कैलाली जिल्ला अदालतले आज जन्मकैदको फैसला सुनाएको हो । टीकापुर घटनामा चौधरीसँगै १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

अब जिल्ला अदालतले फैसला दिइसकेकाले सर्वोच्च अदालतको संवैधानिक इजलासले यसको अन्तिम निर्णय दिने छ । चौधरीलाई पनि जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतमा फैसला पुनरावलोकनका लागि जाने बाटो भने खुल्लै छ । तर अहिले जिल्ला अदालतले आरोप पुष्टि गर्दै सजाय नै तोकेकाले उनको पद भने गुम्ने छ ।