सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

धनगढी : टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीसहित 11 जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको आज फैसला गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो। फैसलापछि उनीहरुले २०९४ साल फागुन ११ गतेसम्म जेलमा बस्नुपर्ने छ।

सो मुद्वामा थरुहट नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी, दुई नावालक गरि १५ जनालाई भने रिहा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच मंगलबार बहस सकिएपछि मुद्दाको फैसला गरिएको हो।

झण्डै ४२ महिनापछि गत बुधवारदेखि तोकिएको पेशी अन्तर्गत एक साता सम्म वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो ।

टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको थियो। सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार अवस्थामै छन्।

पक्राउ परेकामध्ये दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको थियो ।