धनगढीका व्यवसायी भन्छन्- 'अब लकडाउन गर्नु हुँदैन, लकडाउन भए उठिबास हुन्छ'

धनगढीका व्यवसायी भन्छन्- 'अब लकडाउन गर्नु हुँदैन, लकडाउन भए उठिबास हुन्छ'

बसन्त बि.क, धनगढी । यतिबेला मुलुक कोरोना महामारीको तेस्रो लहरको पूर्वसन्ध्यामा छ । दिनदिनै उल्लेख्य रूपमा सङ्क्रमितको सङ्ख्या उकालो लागेसँगै सक्रिय सङ्क्रमित बढिरहेका छन् । सरकारले तेस्रो लहर विरुद्ध लड्ने तयारी स्वरूप विद्यालयहरू बन्द गरिसकेको छ ।

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीले पनि कोरोना नियन्त्रण गर्न आज रातिदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । तर, यी पछिल्लो गतिविधिबाट निजी क्षेत्र भने आत्तिएको छ । यस अघि नै लकडाउन र निषेधाज्ञाको मार खेपिसकेको निजी क्षेत्र पुनः लकडाउन भएमा उद्योग धन्दा पूर्णरूपले धराशायी बन्ने र लगानी डुब्ने चिन्ताले आत्तिएको हो ।

धनगढीका व्यवसायीहरूले पनि अब लकडाउनको विकल्प खोज्नु पर्ने कुरामा जोड दिएका छन् । विगतमा भएको लकडाउनले आफ्नो दैनिक चलाउन कठिनाइ भएको अवस्थामा फेरी लकडाउन भए आफ्नो उठिबास हुने धनगढीका व्यापारीहरूको बताउन थालेका छन् ।

यस अघिको लकडाउनले गर्दा पसलको भाँडा तिर्न बाँकी रहेको अवस्थामा फेरी लकडाउन भए पसलको समान घर लगेर राख्नुको विकल्प नरहेको धनगढीमा कपडा पसल सञ्चालन गर्दै आउनु भएकी ममता सिंहले बताए ।

दोस्रो चरणको लकडाउनपछि बिस्तारै व्यापार व्यावसायहरु  सञ्चालन हुँदै आएका थिए तर अहिले बढ्दो कोरोना सङ्क्रमणका कारणले गर्दा फेरि लकडाउन हुने सम्भावना बढेको छ । धनगढीमा व्यवसाय सञ्चालन गर्दै आएका अर्का फलफूल व्यापारी सञ्जय शाहले बैंकबाट ऋण निकालेर व्यवसाय सञ्चालन गर्दै आएको बताउँदै फेरि लकडाउन भए घर जग्गा बेच्नु पर्ने स्थिति आउने बताए ।

अहिले पनि व्यापार व्यवसाय ठप्प जस्तै अवस्थामा रहेको उनको भनाई छ । उनले बैंकको किस्ता तिर्न समेत कठिनाइ भइरहेको र बैंकको ऋण तिर्न घर, जग्गा नै बेच्नु पर्ने अवस्था आएको बताए । यस्तै धनगढी चौराहामा फलफूल व्यवसाय गर्दै आएकी दुर्गाले  फेरि लकडाउन भए आफू समस्यामा पर्ने बताइन् ।

दैनिक, घर खर्च बच्चाको पढाइर्, कोठा भाडा लगायत अन्य कामका लागि समेत यही व्यवसायी गरेर चलाउँदै आएको बताउँदै उनले फेरि लकडाउन भए छाक टार्न समेत धौँधौँ हुने पर्ने बताइन्  यता कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता दिएर व्यापार व्यवसाय सञ्चालन हुन दिनुपर्ने माग गरे । उनले भारतबाट आउने नागरिकहरुमा परीक्षणको मात्रा बढाउनु पर्ने र संक्रमितलाई होल्डिङ् सेन्टरमा राख्न पर्ने कुरामा जोड दिए ।

तत्कालै लकडाउन गर्न नहुने उनको भनाई छ । उनले विगतको लकडाउनले समेत अर्थ धरासयी भएको अवस्थामा फेरि लकडाउन गर्न नहुने बताए । स्वास्थ्य मापदण्डका नियम पालना गराएर भए पनि व्यापार व्यवसाय सुचारु राख्नु पर्ने उनको भनाई छ ।

सरकारले खोप अभियानलाई तीव्रताका साथ अगाडी बढाएर व्यापार व्यवसायलाई समेत निरन्तरता दिनु पर्ने व्यवसायीहरूले माग गरेका छन् ।