टिकापुर घटनाको फैसला आज हुदै

टिकापुर घटनाको फैसला आज हुदै

धनगढी : टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो । 

२०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरीे कैलालीको टीकापुरमा भएको घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो । 

फैसला चौधरीको पक्षमा आए उनलाई संसद भवन प्रवेश गर्ने बाटो खुल्नेछ । सांसद् चौधरी मुद्दाकै कारण अहिले थुनामा छन् ।अदालतले सफाइ दिए उनी थुनामुक्त हुनेछन् । तर, दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रा अवरुद्ध हुनेछ ।

यद्यपि अदालतले दोषी ठहर गरे चौधरी थुनामै रहेर पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन् । यो मुद्दामा प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्ता हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीको पक्षमा बहस गरेका थिए ।

यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका थिए । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासमा भएको दुवै पक्षको वहसपछि बुधबार फैसला गर्ने तयारी भएको जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायतले बताएका छन् । 

घट्नाको मुख्य योजनाकार भनिएका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । उनले संसद पदको सपथ लिएपनि संसदभवन प्रवेश गर्न पाएका छैनन् ।