कोरोना संक्रमित बढेसँगै फेरि भरिन थाले सेती अस्पतालका शय्या

कोरोना संक्रमित बढेसँगै फेरि भरिन थाले सेती अस्पतालका शय्या

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित विरामीहरु बढ्दै गएका छन् । पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएपछि कोभिड अस्पताल भरिन थालेको हो ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा मात्रै अस्पतालमा ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । भने दुईजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

केही दिन अगाडी सम्म अस्पतालमा दुई/तीन जना संक्रमित विरामीको उपचार हुँदै आएको थियो । भने अहिले अस्पतालमा १३ जना संक्रमित विरामीको उपचार भइरहेको उनले बताए । जसमध्ये दुई जना संक्रमितको आइसियु र एक जना संक्रमित विरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ घण्टा १०५ नमुना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अस्पतालले जनाएको छ ।