महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माणमा सरकारको सहमति

महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माणमा सरकारको सहमति

दार्चुला । सरकारले दार्चुलाको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए । महाकालीमा पुल बनाउने कुरा सुस्ताएको थियो ।

त्यसै गरी, मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको पनि मन्त्री कार्कीले जानकारी दिए । उनले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ निर्धारण गरेको बताए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई बढुवा नियुक्त गरेको छ । त्यसै गरी, जापान सरकारले दिएको करिब १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले सहसचिव कृष्णबहादुर राउतलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको पनि कार्कीले बताए । प्रहरी नियमावली (नवौँ संशोधन) २०७८ स्वीकृत गर्नुका साथै एसिड आक्रमणबाट पीडित मुस्कान खातपनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

त्यस्तै वन क्षेत्रमा कार्बन सञ्चितको पहिचान सम्बन्धी अनुसन्धानमा लागि आवश्यक रुख कटान गर्न र नमुना प्रयोगशालासम्म ल्याउन स्वीकृति दिने निर्णय भएको छ । नेपाल राजपत्रको नियमित अङ्क हप्तामा २ दिन हरेक सोमबार र बिहीबार प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणलाई विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न अधिकारी तोक्ने निर्णय समेत गरेको मन्त्री कार्कीले बताए ।