र्‍यापर लाउरे लाई थप आठ दिन थुनामा राखिने

र्‍यापर लाउरे लाई थप आठ दिन थुनामा राखिने

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना अर्थात् लाउरेलाई आठ दिन थुनामा राख्न जिल्ला अदालतले स्वीकृति दिएको छ । लाउरेसँगै पक्राउ परेका चारलाई थप अनुसन्धानका लागि थप आठ दिन थुनामा राख्न अदालतले स्वीकृति दिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले लाउरेसहित थुनामा रहेकाहरूमाथिको अनुसन्धान नसकिएकाले थप थुनामा राख्न अदालतसमक्ष शुक्रबार म्याद मागेको थियो । कास्की जिल्ला अदालतले आगामी शुक्रबारसम्म थुनामा राखी अनुसन्धान गर्न स्वीकृति दिएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पोखरा महानगरपालिका– ९ नयाँबजार बस्ने लाहुरे र अन्यलाई प्रहरीले गत बुधबार साँझ ७ बजे पोखरा– ८ स्थित जाल्पारोडबाट पक्राउ गरेको हो । 

लागुऔषध ब्राउनसुगर सेवन गर्दै गर्दा लाउरेसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने अन्यमा पोखरा– २१ घर भई हाल पोखरा– १७ छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका– ७ घर भई पोखरा– १ बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका– ६ घर भई पोखरा– ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ छिन् । पक्राउलगत्तै खानतलासी गर्दा बिक्कीको साथबाट ०.५१ ग्राम र सुस्मिताको कोठाबाट १२.५० ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट डिजटल तराजु पनि बरामद गरेको छ ।