दार्चुलामा पुस ५ देखि बालबालिकालाई मोडर्ना खोप लगाइँदै

दार्चुलामा पुस ५ देखि बालबालिकालाई मोडर्ना खोप लगाइँदै

दार्चुला । बालबालिकालाई लक्षित गरी यहि पुस ५ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुदैछ । १२ देखि १७ वर्ष उमेर समूहका जिल्लाका २१ हजार ३३२ बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बिहिवार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १५ हजार ६०० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

पहिलो चरणमा पुस ५ गतेदेखि पुस ८ गतेसम्म अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई लगाइने छ । भट्टका अनुसार विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइने छ । जसका लागि जिल्लामा १३६ खोप केन्द्र कायम गरिएको तथा २७२ स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

जिल्लामा बालबालिकाका लागि अपुग ५ हजार ७३२ डोज मोडर्ना खोप माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने जनाइएको छ तर तत्काल लगाउनका लागि कम तापक्रममा राख्न सकिन्छ । तीन ठाउँबाट नियमित खोप जिल्लामा तीन ठाउँबाट नियमित खोप अभियान सन्चालन गरेर कोरोनाविरुद्दको खोप दिइने भएको छ ।

अहिले नेपाल-भारत जोड्ने खलंगा पुलघाटबाट नियमित रुपमा खोप लगाइदैछ । शुक्रवार जिल्ला कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अध्यक्षतामा बसेको बैठकले थप दुई ठाउँबाट नियमित खोप सेवा संचालन गर्ने निर्णय गरेको छ ।

जसका लागि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट सार्वजनिक बिदाको दिन बाहेक १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने छ ।