सिद्धबाबामाथि बलात्कार आरोप, दुवै पक्ष पुनरावेदनमा

सिद्धबाबामाथि बलात्कार आरोप, दुवै पक्ष पुनरावेदनमा

आफूले कसैसँग शारीरिक सम्बन्ध नराखेको दाबीसहित सिद्धबाबा भनी चिनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरमा निवेदन दिएका छन् । 

उनले आफ्नी एक अनुयायीलाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतले सफाइ दिए पनि यो फैसलाविरुद्ध उनी उच्च अदालत गुहार्न पुगेका हुन् । 

सिद्धबाबाको मुद्दामा उच्चको संयुक्त इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र जगतनारायण प्रधानको इजलासबाट मंगलबार यस्तो आदेश भएको हो । ‘मुद्दाका पक्ष भएकाले हामीलाई पनि डाकिएको हो,’ उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख तथा सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले भने, ‘जिल्लाले जबर्जस्ती नभए पनि शारीरिक सम्बन्ध कायम भएको भनेर फैसला गरेपछि उहाँले त्यसो भएको होइन भनेर उच्चमा पुनरावेदन गर्नुभएको रहेछ ।’ 

गत वर्ष २२ मंसिरमा जिल्ला अदालत सुनसरीले सिद्धबाबाले आफ्नी अनुयायीसँग सहमतिमै शारीरिक सम्बन्ध राखेको र बलात्कार नभएको फैसला गरेको थियो । तत्कालीन जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिँदै सम्बन्ध कायम भएको, तर दुईतर्फी सहमति रहेको फैसलामा उल्लेख गरेका थिए । 

फैसलामा थियो, ‘वारदात मितिपछिका जाहेरवालीका यस्ता संवादहरूले वारदात भएको मिति एवं समयमा भएको घटना जाहेरवाली स्वयंको आग्रह आशक्ति र अनुनयबाटै भएको भन्ने स्पष्ट देखिन आएको छ । 

यसरी प्रतिवादीसँग निरन्तर सम्बन्धमा रहन चाहेको वारदात भनिएको मितिपछिका जाहेरवालीका ती संवादहरूबाट पनि निजको मञ्जुरीबेगर प्रतिवादीबाट कुनै कार्य भएको भन्ने देखिन्न ।’ यसरी अदालतले दुवैबीच सम्बन्ध रहेको, तर जबर्जस्ती भने नभएको ठहर गरेको थियो । सोही फैसलाविरुद्ध सिद्धबाबाले २६ चैत ०७७ मा पुनरावेदन गरेका हुन् । उनका कानुन व्यवसायी रहेका अधिवक्ता सरोजकुमार गिरीले जिल्ला अदालतको फैसला गलत भएको भन्दै उच्चमा पुनरावेदन गरिएको बताए ।