शेयर बजारको उतारचढावपछि चीनले गुमायो १५० अर्बपति !

शेयर बजारको उतारचढावपछि चीनले गुमायो १५० अर्बपति !

चीनको शेयर बजारमा पछिल्लो वर्ष भएको उतारचढावले चिनियाँ अर्बपतिहरुलाई ठूलो झट्का दिएको संचार माध्यम सिएनएनले जनाएको छ । यस्तोमा गतवर्ष मात्र चीनमा अर्बपतिहरुको सङ्ख्या १६१ ले घट्न पुगेको बताइएको हो । 

चिनियाँ शेयर बजारमा २५ प्रतिशतभन्दा बढीले गिरावट आउनु र त्यसै अनुरुप मुद्रामा पनि लगातार गिरावट आएकाले नै चिनियाँ धनाढ्यहरुले आफ्नो सम्पति गुमाउनु परेको बताइएको छ । अमेरिकासँगको व्यापार युद्धपछि देशको आर्थिक विकास सुस्त हुँदै जानेप्रतिको चिन्ताका कारण नै २०१८ मा चिनियाँ आर्थिक बजारमा ठूलो उतारचढाव देखा परेको थियो । 

यस्तोमा चिनियाँ अर्बपतिहरुको सङ्ख्या ८१९ बाट घटेर ६५८ पुगेको बताइएको छ । तर यति ठूलो गिरावटपछि पनि अझै चीन अर्बपतिहरुको सङ्ख्यामा अमेरिकाभन्दा धेरै अगाडि छ ।

अमेरिकामा भने गत वर्ष १३ अर्बपतिहरु थपिएको बताइएको छ । यसमा पनि सबैभन्दा धेरै सम्पति गुमाउनेमा इन्टरनेट जायन्ट टेन्सेन्टका कार्यकारी अधिकृत मा ह्वातेङ रहेको बताइएको छ ।

उनको सम्पति १९ प्रतिशतले घट्दै ३८ अर्बमा झरेको हो । चिनियाँ सरकारले कम्पनीका केही लोकप्रिय गेमहरुलाई अस्वीकृत गरिदिएपछि नै टेन्सेन्टको शेयरमा ठूलो क्षति पुगेको थियो । 

त्यसैगरी डालियन वान्डा ग्रुपका वाङ जिआनिन पनि कुनै समय चीनका सार्वधिक धनी व्यक्ति थिए । तर उनको सम्पति ३७ प्रतिशतले घट्दै कुल १७ अर्बमा झरेको हो । कुनैसमय विश्वव्यापी व्यापारबारे गर्व गर्ने वाङ पछिल्ला केही वर्षहरुमा आफ्ना अचल सम्पति र मनोरञ्जनात्मक सामग्री बेच्नप्रति केन्द्रित रहेको पाइएको छ । 

यता शेयर बजारको चिन्ताजनक प्रदर्शनका वापद् ज्याक माको सम्पतिमा भने उल्लेखनीय वृद्धि भएको पाइएको छ ।

यसरी उनको सम्पति २० प्रतिशत वृद्धि भइ ३९ अर्ब डलर पुगेको हो जसपछि उनी चीनका सबैभन्दा धनी व्यक्ति बनेका हुन् । तरपनि उनी विश्वका सर्वाधिक धनी अमेजोनका जेफ बेजोस भन्दा धेरै पछाडि छन् जसको कूल सम्पति १४७ अर्ब डलर रहेको छ ।

तर चीनले केही नयाँ अर्बपतिहरु पनि सिर्जना गराएको छ । जस्तै गत वर्ष चिनियाँ हटपट चेन हैदिलाओका मालिक जाङ योङ हङकङमा सार्वजानिक भएपछि विश्वकै सर्वाधिक धनी रेस्टुरेन्ट मालिक ठहरिएका हुन् ।

उनको कुल सम्पति हाल ८.८ अर्ब डलर रहेको छ । त्यस्तै टिकटक सञ्चालक कम्पनी बाइट डान्सका संस्थापक जाङ यिमिङ पनि पहिलोपटक अर्बपतिहरुको सूचीमा परेका छन् । टिकटकको बजार भाउ हाल ७५ अर्ब डलर रहेको छ