नैतिक जागरणको नेपाली तिर्खा

नैतिक जागरणको नेपाली तिर्खा

स्नातक गरेका लगभग ४ प्रतिशत नेपालीमात्रै छन्, जसलाई समुच्चमा बौद्धिक वर्ग भनिन्छ र जसको ठूलो अंश देशको दुर्दशाका लागि जिम्मेवार छ।
गत महिनाको अन्त्यतिर श्रद्धेय वामपन्थी बुद्धिजीवी आहुतीले एक दैनिकमा नेपाली समाजमा नयाँ बौद्धिक जागरणको आवश्यकता अनिवार्य रहेको र त्यस्तो जागरणविना नयाँ युगको नयाँ युगान्तरकारी परिवर्तन असम्भव हुने तर्क गर्दै एउटा सशक्त लेख (बौद्धिक जागरणको नेपाली तिर्खा) लेख्नुभयो।

समाजको परिवर्तन निश्चय पनि बहुआयामिक विषय हो तर पनि त्यसको एउटा प्रधान पक्ष हुन्छ। सो लेख पढेयताका दिनहरूमा म बारम्बार सोच्दैछु– नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि अहिलेको घडीमा नयाँ बौद्धिक जागरणको आवश्यकता बढी छ या नैतिक जागरणको ?

बुद्धिजीवीहरू कहिलेकाहीं बौद्धिक को हो भनेर बहस गर्छन्। विविध या एउटा कुनै खास विषयमा अलि गहिरो ज्ञान राख्ने र त्यसलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेर समाजलाई प्रभावित पार्न सक्ने व्यक्ति बौद्धिक हुन्। अर्थात्, बौद्धिकको परिभाषाभित्र आहुती र प्रदिप गिरीहरू पर्छन् तर नाम कमाएका भए पनि वरिष्ठ चिकित्सकहरू नपर्न सक्छन्। उनीहरू वरिष्ठ चिकित्सक नै कहलाइन्छन्

। यद्यपि, उनीहरूको पढाइ, अभिव्यक्तिको दायरा र प्रभाव फराकिलो छ भने ती पनि स्वर्गीय डा. उपेन्द्र देवकोटा झैं बौद्धिक कहलाइन सक्छन्।

अनौठो के छ भने छुट्टै प्रयोग हुँदा बौद्धिक शब्दले व्यक्ति–व्यक्तिको विशेषतालाई हेर्छ तर समुच्चरूपमा प्रयोग हुँदा सो शब्दले बुद्धिको विशिष्ट प्रयोग गर्ने सबैलाई जनाउँछ।

उदाहरणका लागि २०६२/६३ को जनआन्दोलनमा ‘देशका अधिकांश बौद्धिक तथा नागरिक समाजको सहभागिता थियो’ भनिँदा अलि पढेलेखेर कुनै पनि पेसा अवलम्बन गर्ने सबै नागरिक त्यसभित्र समेटिएका हुन्छन्।

तिनमा डाक्टर, इन्जिनियर, साहित्यकार, कलाकार, पत्रकार, कर्मचारी, व्यवसायी सबै पर्छन्। जब हामी बौद्धिक जागरणको कुरा गर्छौं, ती सबैमा बौद्धिक चेतको थप विकासको आह्वान गरिरहेका हुन्छौं।


युरोपमा चौधौंदेखि सत्रौं शताब्दीलाई पुनर्जागरणको अवधि भनियो। जागरण नभनेर पुनर्जागरण भनियो किनभने त्यो अवधिका बौद्धिक गतिविधि मूलतः प्राचीन ग्रिस र रोमबाट प्रेरित थिए

। तर पुनर्जागरण पनि एक प्रकारको जागरण नै हो र त्यो जागरणले साहित्य, कला, संगीत, दर्शन, धर्म, विज्ञान, राजनीति र अन्य सबै बौद्धिक गतिविधि समेटेको थियो। जब हामी बौद्धिक जागरणको कुरा गर्छौं, त्यसले सांगोपांगो समाजलाई समेट्न जरूरी छ र मैले बुझेसम्म आहुतीजीको आग्रह पनि त्यही नै हो।


बौद्धिक जागरण हामीलाई पनि आवश्यक छ। त्यसमा कुनै शंकै छैन। तर नयाँ युगको नयाँ युगान्तरकारी परिवर्तनको सपना देख्ने हो भने सबैभन्दा पहिले खासगरी वर्तमान नेपाली बौद्धिक समुदायमा नैतिक जागरणको अत्यधिक आवश्यकता छ।

सो समुदायको ठूलो हिस्सा (सबै होइन) नैतिकरूपमा यति रसातलमा पुगिसक्यो कि ती पुग्नेहरूलाई पनि म कहाँ पुगें भन्ने अनुभूति नै छैन। त्यसो भन्नाका तथ्यगत र वस्तुगत आधार छन्, जसको बारेमा म एकैछिनमा चर्चा गर्नेछु। त्योभन्दा पहिले नैतिक जागरणको कुरा गर्दा कस्तो नैतिकताको अपेक्षा गरिएको हो, संक्षेपमा त्यसको चर्चा गरौं।


नैतिकताका दुई पाटा हुन्छन्। पहिलो– नितान्त व्यक्तिगत र दोस्रो– सार्वजनिक। महात्मा गान्धी, जोन एफ केनडी, बिल क्लिन्टन, विश्वेश्वरप्रसाद कोइराला र त्यस्ता कैयन् अरू व्यक्तित्वहरू उनीहरूका अनेकन महिलासँगको सम्बन्धका कारण व्यक्तिगत नैतिकताका दृष्टिकोणबाट चुकेको मानिए।

तर सार्वजनिक जीवनमा नैतिकताको दृष्टिकोणबाट ती सबै तुलनात्मकरूपमा अब्बल रहे। बिल क्लिन्टनमाथि त महिलासँगको सम्बन्ध लुकाउने प्रयासमा अदालतसामु झूटो बोलेको र न्यायमा अवरोध पुर्‍याउन खोजेको आरोपमा अमेरिकी संसद्को तल्लो सदनमा महाभियोग नै लाग्यो।

उनलाई माथिल्लो सदनले सफाइ दियो। त्यति हुँदा पनि उनी राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेर पदबाट निस्कँदा अमेरिकाको इतिहासमै सबैभन्दा लोकप्रिय राष्ट्रपतिका रूपमा निस्किए। भन्न त सार्वजनिक व्यक्तिहरूको निजी जीवन हुँदैन भनिन्छ। त्यति भन्दाभन्दै पनि निजी जीवन नहुने भन्ने प्रश्नै उठ्दैन।

तर निजी जीवनको नैतिक पाटोलाई घटनाअनुसार सार्वजनिक जीवनसँग छुट्ट्याउनुपर्ने हुन्छ। अमेरिकी समाजले सम्भवतः क्लिन्टन काण्डलाई त्यसै रूपमा छुट्ट्यायो।


यस आलेखमा नैतिक जागरण भन्नाले सार्वजनिक जीवनमा नैतिकताको जागरण भन्न खोजिएको हो। सार्वजनिक नैतिकता मूलतः सार्वजनिक जीवनका गतिविधिसँग जोडिएको हुन्छ। सार्वजनिक जीवनको नैतिकताको चुरो मूलतः आर्थिक पाटोसँग जोडिएको हुन्छ।

सार्वजनिक जीवन कसको हुन्छ त भन्दा त्यो खासगरी बौद्धिक समुदायकै हुन्छ। गाउँमा जीविकोपार्जन गर्ने कृषक र देशभरि छरिएका श्रमिकलाई बौद्धिक समुदायका रूपमा हेरिँदैन। सन् २०११ मा भएको पछिल्लो जनगणनाअनुसार नेपालको त्यतिबेलाको कुल जनसंख्या (२ करोड ६५ लाख) मा झन्डै २७ लाखले एसएलसी उत्तीर्ण गरेका थिए भने तीमध्ये लगभग ६ लाखले मात्र स्नातक पूरा गरेका थिए।

गएको ८÷९ वर्षमा जनसंख्याको वृद्धि र उच्च शिक्षाको पहुँचमा आएको फैलावटका कारण त्यो संख्या दोब्बर नै भयो होला भनेर अनुमान गर्ने हो भने पनि त्यो १२ लाख अर्थात् वर्तमान नेपालको कुल जनसंख्याको लगभग चार प्रतिशनभन्दा बढी हुँदैन। स्नातक पूरा गर्नेमध्ये पनि लाखौं विदेशमा कार्यरत छन्। नेपालमा रहेका स्नातक वा त्योभन्दा माथिको पढाइ पूरा गरेका चार प्रतिशत नागरिकमध्येकै हुन्, जो सार्वजनिक जीवनका विभिन्न जिम्मेवारीमा हाबी छन्, जसलाई समुच्चमा बौद्धिक वर्ग भनिन्छ र जसको ठूलो अंश यो देशको दुर्दशाका लागि जिम्मेवार छ।

नेपाली समाजमा सार्वजनिक जीवन बिताउने बौद्धिक समुदायको नैतिक स्तर मापन गर्ने सबैभन्दा सान्दर्भिक सूची भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संगठन ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन नै हो। सो सूचीमा हामी वर्षौंदेखि सधैं किन पुछारमा पर्छौं ? त्यो कृषक, श्रमिक या विदेशमा बस्ने नेपालीका कारणले होइन।

त्यो तल्ला तहमा काम गर्ने पेसाकर्मीका कारण पनि होइन। त्यो राजनीतिदेखि सेना, कर्मचारीतन्त्रदेखि गैरसरकारी संस्थाजस्ता समाजका सबैजसो क्षेत्रमा नेतृत्व गर्ने अपवादलाई छोडेर कम्तीमा स्नातक गरेका नेपालीका कारणले हो। यो आलेख लेख्न बसेको दिन एउटा प्रमुख राष्ट्रिय दैनिकमा समाचार आयो—‘कर तिर्दैनन् महानगरका घरधनी।’

महानगरका घर भाडामा लगाउने धेरै घरधनी तिनै पढेलेखेका समूहभित्र पर्छन्। उनीहरू सरकार भ्रष्ट भयो भनेर गाली गर्न पछि पर्दैनन् तर सरकारले तोकेको घर भाडा कर तिर्न चाहँदैनन्।

केही समयअघिको मेरो आफ्नै अनुभव यहाँ सान्दर्भिक होला। म घर भाडा कर तिर्न महानगरपालिका गएको थिएँ। मसँग गफ गरिरहेका एकजना शुभेच्छुकले कुरा गर्न चाहे। अलि पर लगेर उनले मप्रति ठूलो सदाशय देखाउँदै भने, ‘गत वर्षको घरबहाल सम्झौता नदेखाए पनि हुन्छ। कसैले चेकजाँच गर्दैन।

यो वर्षको मात्र देखाउँदा हुन्छ। अनि यहाँ देखाउन घर भाडामा बस्नेसँग अर्को एउटा कम घर बाहाल देखाएर कागज गरेर ल्याए भइहाल्छ नि। त्यसो गर्‍यो भने एकदम कम पर्छ।’ मलाई सदाशय देखाउने ती महानुभाव रत्ति पनि खराब नियतका झैं लाग्दैनथ्यो। तर अलिकति पनि सभ्य समाजमा भन्नै नमिल्ने त्यस्तो गम्भीर सल्लाह उनले मलाई यति सहजताका साथ दिइरहेका थिए कि त्यसबाट हाम्रो समाजको चरित्र हामीले कस्तो बनाइसकेका छौं भन्ने प्रस्ट हुन्थ्यो।

केही वर्षअघिको कुरा हो, लेखकहरूको एउटा समूहमा बसेर कुराकानी गर्दा ‘अधिकांश’ लेखकहरूले आफ्नो लेखकश्व (रोयल्टी) मा कर तिर्दैनन् भन्ने विषय आयो। किन तिर्ने ? भन्ने पनि आयो। अहिले परिस्थिति बदलियो कि त्यो वर्तमानका लेखक र प्रकाशकहरूलाई थाहा होला।

जीवन धान्नै कठिन हुनेलाई एकछिन छोडिदिऊँ। मर्ता क्या न कर्ता भने झैं भोको पेट आदर्शले अघाउँदैन। तर अरूले लेखकश्वमा कर नतिर्नुको कुनै पनि किसिमले औचित्य दर्शाउन सकिँदैन। त्यतिबेला मैले आफ्ना कला संवाददातालाई लेखकहरू र लेखकश्वबारे एउटा रिपोर्ट बनाउन भनें।

उनले रिपोर्ट बनाउन सबैभन्दा पहिले सुपरिचित, सम्पन्न पृष्ठभूमिका मदन पुरस्कार प्राप्त एकजना लेखकलाई फोन गरे। दिवंगत भइसकेका ती प्रतिष्ठित लेखकको स्वस्फूर्त जवाफ थियो, ‘तपाईंले यस्तो विषयमा बोल्न लगाएर के भोलि घरमा प्रहरी पठाउन खोजेको ? ’ उनले बोल्नै अस्वीकार गरे।


तुलनात्मक रूपमा राम्रै आम्दानी गर्ने र जनताले हाइहाइ गर्ने हाम्रा नाम चलेका सिने कलाकार, संगीतकार, गायकहरूले आफ्नो आम्दानीमा कर तिर्छन् कि तिर्दैनन् ? या तिरे पनि वास्तविक आम्दानीमा तिर्छन् कि तिर्दैनन् ? हाम्रा ठूलाठूला उद्योगी तथा व्यापारीहरूले आफ्नो वास्तविक आम्दानीमा कर तिर्छन् कि तिर्दैनन्

? ठूलाठूला नेताहरू आम्दानीको कुनै नियमित स्रोतविना कसरी सानदार जीवन बाँचिरहेका छन् ? हाम्रा उच्च आय भएका इन्जिनियर, डाक्टर, वकिल र अन्य पेसाकर्मीले असल नागरिकको जिम्मेवारी वहन गरेका छन् कि छैनन् ? कैयन् देशले एकैपटक दर्जनौं बोइङ किन्छन्।

कैयन् देशले एकैपटक दर्जनौं विद्युतीय बस किन्छन्। कैयन् देशले एकैपटक कैयन् विमानस्थल बनाउँछन्। हजारौं किलोमिटर बाटो निर्माण गर्छन्। किन उनीहरूकहाँ विवाद हुँदैन र हामीकहाँचाहिँ एउटा बोइङ किन्दा होस् या दस किलोमिटर बाटो बनाउँदा, सधैं बबन्डर हुन्छ। किनभने बौद्धिक भनिने र जनसंख्याको चार प्रतिशतभित्र पर्ने हामी अधिकांश भ्रष्ट छौं।


वर्तमानको जस्तो शक्तिशाली सरकारका सदस्यहरूमा नैतिक जागरण आउने हो भने युगान्तकारी परिवर्तनका लागि योभन्दा अनुकूल समय दशकौंयता कहिले थियो होला र ?
हो, समाज नै भ्रष्ट भएकाले ‘ममात्रै असल भएर के गर्नु ? मैले तिरेको कर घुस्याहाले खान्छन्, म किन कर तिरूँ ? ’ भन्ने भावना विकसित भएको छ। त्यसरी सोच्ने हो भने त जसले जे गरे पनि भयो। जे पनि माफ गरिदिए भयो। त्यति भन्दाभन्दै के पनि साँचो हो भने सबैमा भ्रष्टाचारसँग लड्ने क्षमता हुँदैन।

अनावश्यक झमेला बेहोर्नु, समय खेर फाल्नु र गर्न लागेको काम अवरुद्ध बनाउनुभन्दा ‘यति तिरिदिऊँ, आनन्दै हुन्छ’ भनेर भ्रष्टाचारको जालोमा फसेका कैयन् असल नागरिक मैले भेटेको छु। तर समग्रमा भन्नुपर्दा ‘अरिंगाल’ ले लखेटेका लोकप्रिय गायक पशुपति शर्माले भने झैं नेपाल यस्तो देश भएको छ, जहाँ जसले जति सक्छ लुटे हुन्छ भन्ने मनोविज्ञान स्थापित भएको छ। त्यो गीत नेताहरूमाथिको कटाक्ष मात्र थिएन,

शिक्षक, कर्मचारी, व्यवसायीदेखि आम नागरिकसम्म खासगरी तथाकथित बौद्धिक समुदायमाथिको पनि तीव्र कटाक्ष थियो। सो गीतले मूलरूपमा रसातलमा पुगेको नेपाली बौद्धिक समाजको चित्रण गरेको छ। अब साँच्चिकै देश बनाउने हो भने समाज नै यस्तै छ भन्ने तर्क बहाना हुन सक्दैन।


युगान्तकारी परिवर्तनका लागि बौद्धिकताको अंश चाहिन्छ, तर त्योभन्दा बढी नैतिकताको अंश आवश्यक हुन्छ। बौद्धिक नभए पनि नैतिक व्यक्तिले समाजलाई घात गर्दैन। तर नैतिकता नभएको बैद्धिक व्यक्ति समाजका लागि खतरनाक हुन्छ।

किनभने ऊ सामान्य व्यक्तिभन्दा स्वार्थलिप्त, धूर्त र आडम्बरी हुन्छ। त्यस्ता बौद्धिक तर अनैतिकहरूले सिंगो देशलाई दीर्घकालीन रूपमा हानि पुर्‍याउँछन्। जसरी २००७ सालयता विगत सात दशकमा बारम्बार अधिकांश बौद्धिक अनैतिकहरूले यो देशलाई रुवाएका छन्।

यो आलेखमा सार्वजनिक नैतिकताको मात्र चर्चा गरिएको छ। सार्वजनिक नैतिकता भनेको देशको हितलाई सर्वोपरि राखेर पदीय या सामाजिक जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने कर्म हो। त्यसैले प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरूलाई बौद्धिकताको भन्दा बढी नैतिकताको खाँचो छ।

वर्तमानको जस्तो शक्तिशाली सरकारका सदस्यहरूमा नैतिक जागरण आउने हो भने युगान्तकारी परिवर्तनका लागि योभन्दा अनुकूल समय दशकौंयता कहिले थियो होला र ?
सकेसम्म र पाएसम्म राज्यलाई ठग्ने अनि आफ्नो गैरजिम्मेवारीपनको दोष सकेसम्म र पाएसम्म सरकारमाथि लगाउने बौद्धिक समुदाय समाजमा हाबी भएसम्म देश बन्दैन।

देश बनाउने या बिगार्ने त आखिर त्यही सीमित बौद्धिक समुदायका सदस्यहरूले नै हो, जो राजनीतिदेखि समाजका सबै क्षेत्रमा हाबी हुन्छन्। देशलाई ठगेर नागरिकको भलो कहिल्यै हुँदैन।

आफ्नो भलो गर्न देशलाई ठग्नेहरूले आफ्नो भविष्य अनिश्चित बनाउने र सन्तानको भविष्यमाथि घात गर्ने काम गरिरहेका हुन्छन्। तिनेले बुझ्नुपर्छ– देश बिग्रँदा सन्तानको सुख, शान्ति र समृद्धि सबै बिथोलिन्छ, उनीहरूमाथि घात हुन्छ र पाप हुन्छ। नेपालमा नयाँ युगको नयाँ युगान्तकारी परिवर्तन साकार पार्ने हो भने नयाँ नैतिक जागरणको सुरुवात हुनैपर्छ।