टेबुल ठटाउदै कांग्रेसद्धारा प्रदेश ७ को संसद् अवरुद्ध

टेबुल ठटाउदै कांग्रेसद्धारा प्रदेश ७ को संसद् अवरुद्ध

धनगढीः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश ७ को संसद् अवरुद्ध गरेको छ। शुक्रवार ३ बजेका लागि बोलाइएको बैठक सुरु हुने बित्तिकै काँग्रेसका सांसदले टेबुल ठोक्दै उठेर विरोध जनाएका थिए। 

काँग्रेसको विरोधपछि सभामुख अर्जुन बहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी विनै संसद् अवरुद्ध गरेको भन्दै तिन पटक आ–आफ्नो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए। 

पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षका सांसदले नमानेपछि सभामुख थापाले अर्को बैठक साउन ७ गते दिउसो ३ बजे बस्ने भन्दै शुक्रवारको बैठक स्थगित भएको घोषणा गरेका थिए। 

शुक्रवारको बैठकमा केही सांसदले शून्य समयमा बोल्ने र गाउँ तथा नगर सभा सञ्चालन गर्न बनेको विधेयकमाथि दफावार छलफल भए पश्चात् तयार पारिएको प्रतिवेदन पेस गर्ने कार्य सुची थियो। 

बैठक स्थगितपछि  काँग्रेसका सांसद भरत बहादुर खड्काले सबै कुराको जानकारी कार्य व्यवस्था परामर्श समितिमा दिनुनपर्ने दाबी गरे। 

‘सबै कुरा कार्य व्यवस्था परामर्श समितिमा राख्नै पर्छ भन्ने के छ ?’ खड्काले प्रश्न गर्दै भने, ‘शुक्रवार ससद अवरुद्ध गर्ने कुरा हाम्रो पार्टीको निर्णय हो। त्यसैले जानकारी विनै अवरुद्ध गरेका हौ।’

उनले सघिय सरकार र प्रदेश सरकार दुई तिहाइको दम्भका साथ चलेका आरोप लगाए। 
‘सरकारले दुई तिहाइको दम्भ देखायो।’ उनले भने, ‘संविधानको मूल मर्म र भावनामा टोक्दै विधि र शासनका आधारमा सरकारलाई चलाउनका लागि ससद अवरुद्ध गरेका हौ।’

काँग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले सरकारले अराजक शैलीको अन्त्य नगरेसम्म ससद अवरुद्ध पार्ने चेतावनी दिए। यस्तै, प्रमुख प्रतिप्रक्षी दल नेपाली काँग्रेसले ५ बुँदे विज्ञप्ति निकाल्दै सरकारको ध्यानाकर्षण गराएको छ। 

उसले डा.गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौँ ल्याएकोप्रति खेद प्रकट गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभामा सभामुख र उपसभामुख छुट्टा छुटटै दलको हुनुपर्ने माग गरेको छ। 

भेला हुने, प्रदर्शन गर्ने र आफ्ना अभिव्यक्ति राख्न पाउने अधिकार सरकारले हनन गरेको, नेपाल सांस्कृतिक विश्व विद्यालयका उपकुलपति डा. कुल प्रसाद कोइराला र ट्रमा सेन्टरका डाक्टर भोजराज अधिकारीप्रति गरेको व्यवहारप्रति निन्दा गरेको छ। 

‘महँगी, भ्रष्टाचार, अशान्ति, बलात्कार र विभिन्न क्षेत्रमा जनताले थेग्न नसक्ने गरी कर बढाइएको प्रति घोर भर्त्सना गर्दछौ।’ काँग्रेस उपनेता देवराज पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।