विशेष

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने     |     गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय     |     अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी     |     महिला हिंसाका उजुरी घटे     |     काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी     |     अनियमितता अन्त्य गर्न नगरपालिका सहमत भएसँगै खुल्यो ताला     |     आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिबारे छलफल प्रारम्भ     |     मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो     |    

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

खवर संवाददाता    

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गएको शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना भएका पोखरेलको शनिबार राति निधन भएको हो ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि थलिएका थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किममा रहेको गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाण्डौ ल्याई उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गएको शनिबार श्री अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् ।  खस जातिको इतिहास, १०० वर्ष र  भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै नामबाट पुस्तक कति लेखे भन्ने थाहा नभए पनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

साहित्य योगदान

पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।
 
उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका  थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेको पाइन्छ । 

उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे । यही समयमा उनले बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याएका छन् । पोखरेलले विभिन्न छद्म नामबाट विभिन्न कृतिहरूको रचना गरेका छन् । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा  आवद्ध थिए ।



आइतबार १२, फागुन २०७५ १०:४२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस