कैलालीमा अनुमति विनै दर्जनौँ सी.सी.टिभी सञ्चालनमा, अनुमति लिन प्रशासनको आग्रह

कैलालीमा अनुमति विनै दर्जनौँ सी.सी.टिभी सञ्चालनमा, अनुमति लिन प्रशासनको आग्रह

धनगढी : कैलालीमा दर्जनौँ सी.सी.टिभी अनुमति विनै सञ्चालनमा रहेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा दर्जनौँ सी.सी.टिभी सञ्चालनमा भएपनि हालसम्म १० वटा व्यक्ति तथा सघसस्थाले मात्रै सञ्चालनको अनुमति लिएका छन् । 

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राममूर्ति सिंहका अनुसार हालसम्ममा २५ सङ्घसंस्था तथा व्यक्तिले सी.सी.टिभी सञ्चालनका लागि निवेदन दिएका छन् ।

‘२५ जना मध्ये १० जनाले अनुमति लिइसकेका छन् ।’ सिंहले भने, ‘अनुमतिका लागि निवेदन दिएका १५ सङ्घसंस्था तथा व्यक्ति अनुमति लिन आएका छैनन् । तर, हामीले उनीहरूलाई अनुमति दिनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरिसकेका छौ ।’

२०७२ साल कार्तिक २५ गतेको मन्त्री परिषद् बैठकले गरेको सी.सी.टिभी जडान तथा सञ्चालन सम्बन्धी कार्य्विधिलाई लत्याउदै जिल्लाका सङ्घसंस्था तथा व्यक्तिले अनुमति लिएका छैनन् । 

अनुमति लिन प्रशासनको आग्रह

जिल्लामा अधिकांश सी.सी टिभी अनुमति विनै सञ्चालनमा रहेको पाइएपछि मगलवार प्रशासनले सूचना जारी गर्दै अनुमति दिन आग्रह गरेको छ ।  

‘अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि सार्वजनिक निकाय, व्यापारिक केन्द्र र निजी प्रयोगकर्तालाई अनिवार्य रूपमा अनुमति लिएर मात्रै सी.सी टिभी प्रयोग गर्न आग्रह गर्दछौ ।’ जिल्ला प्रशासन कार्यालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । 

‘आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गराउनका लागि सी.सी टिभी प्रयोगकर्तालाई अनुमति लिन आग्रह गरेका छौ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने, ‘सुरुमा अनुमति लिन आग्रह गछौ, छलफल गर्छौ अटेरी गर्ने कारबाही प्रक्रिया अघि बढाउँछौ ।’

यसअघि जिल्ला प्रशासन कार्यालयले २०७३ सालमा पनि अनुमति लिन सी.सी टिभी प्रयोगकर्तालाई आग्रह गरेको थियो । आग्रह अटेरी गर्दा पनि प्रशासनले कारबाही प्रक्रिया अघि बढाउन सकेको थिएन ।