फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने कि गौचरन क्षेत्र ? (फोटो फिचर )

फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला  बनाउने कि गौचरन क्षेत्र ? (फोटो फिचर )

धनगढी :  क्रिकेटको शहरका रूपमा परिचय बनाएको धनगढीमा निर्माण हुने भनिएको फाप्ला अन्तर्राष्ट्रिय खेल मैदान संरक्षणको अभावमा गौचरनमा परिणत भएको छ ।

फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य अनुरूप आगामी आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारले ५ करोड तथा धनगढी उपमहानगरपालिकाले १ करोड बजेट छुट्ट्याएको छ ।

फाप्ला लाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउन सबैले ठुल्ला ठुल्ला सपना देखाएपनि पछिल्लो समय फाप्ला खेल मैदानमा कसैको ध्यान नजाँदा अहिले क्रिकेट मैदान गौचरनमा परिणत भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्ला क्रिकेट मैदानमा केही महिना पहिले मात्रै प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा चिटिक्क पारिएको क्रिकेट मैदानमा कसैको ध्यान नजाँदा अहिले गौचरन बनेको हो । मैदानको चारै तिर तारबार गरिएको भएपनि मुल गेटमा लगाएको ताला स्थानीयले तोड्दै गाई गोरु चराउने गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दीपक सिंहका अनुसार खेलमैदानमा छोडिएका पशुचौपायाँको व्यवस्थापनका लागी गेटमा पटक–पटक ताला लगाउँदा समेत तोडिन थालेपछि अहिले त्यतिकै छोडिएको हो ।

लाखौँ रुपैयाँ खर्च गरेर फाप्ला मैदानमा एक वर्ष अघि घेरवार गरिएको थियो । तर, संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भनिएको मैदान गौचरणमा परिणत भएको हुन थालेको हो ।

स्थानीयहरूले मैदानमा बिहानै आफ्ना पशु चौपायालाई चराउनका लागि मैदानमा छाड्ने र साँझ घर लिने गरेका छन् । गाउँका सबै मानिसले आफ्नो पशु फाप्ला क्रिकेट मैदानमा छोड्दा पनि सरोकारवावाले केही नभन्ने गरेको फाप्ला क्रिकेट मैदानमा गाई बस्तु चराउने क्रममा भेटिएका वोराडाडीका किरण रानाले बताए ।

ड्रिम फाप्ला अभियानले फाप्ला क्रिकेट मैदानलाई लामो समय देखि संरक्षण र विकास गर्दै आएको थियो ।

त्यसपछि संरक्षण र स्वामित्वमा विवाद हुँदा जिल्ला खेलकुद विकाश समितिको मातहतमा रहेन गरी एक उपभोक्ता समिति समेत गठन गरिएको थियो । उक्त समिति पनि घेरवार गरेपछि निष्क्रिय बनेको छ । जसका कारण क्रिकेट मैदानमा पशुचौपायाँको राज हुन गएको छ ।

त्यसैले उक्त उपभोक्ता समितिले नै मैदानको संरक्षणमा लाग्नुपर्ने भनाई छ क्रिकेट अभियान्ता तथा ड्रिम फाप्ला अभियान सञ्चालन गर्दै आउनुभएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीको ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का जनप्रतिनिधिले पनि मैदान वडा कार्यालय मातहत आउनुपर्ने माग गर्दै आएको भए पनि संरक्षणका लागि निर्वाचित भएको एक वर्षसम्म केही गर्न सकेका छैनन् ।

अव संरक्षणका लागि एक संरक्षण समिति बनाउने तयारीमा वडाका जनप्रतिनिधि छन् । तत्काल समिति गठन गरी समस्याको समाधान गर्ने वडा अध्यक्ष बल बहादुर ऐरले जानकारी दिए ।

फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भन्दै विगतदेखि ड्रिम फाप्ला अभियान समेत सञ्चालन भइरहेको छ । अभियान पनि अहिले सुस्ताएको छ ।

अन्तर्राष्ट्रिय रङ्गशाला बनाउनकै लागि प्रदेश ७ को सरकार र स्थानीय तहले बजेट विनियोजन गरेको छ ।

तर क्रिकेट मैदानमा छोडिएका पशुको व्यवस्थापन गर्ने नसक्ने निकायले कसरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउँलान भन्ने शङ्का भन्ने उब्जाएको छ ।