आज तीज : पोहोरभन्दा चहलपहल धेरै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

आज तीज : पोहोरभन्दा चहलपहल धेरै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ ।

तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गर्नुभएको छ ।

यसैबीच यसवर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले भोलिदेखि मात्र पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

आज पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन जान पाउने कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभयो । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ ।