नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि

नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित नेकपाको कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्ने निर्णय गरेकाे छ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले कार्यदलले बुझाएको 'अपूर्ण' प्रतिवेदनमाथि छलफल गरेको थियो। 'त्यो छलफललाई जारी राख्दै सचिवालयको अर्को बैठक ९ गते बिहान ९ बजे बस्ने तय भएको छ', नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'सोही बैठकमा हामीले कार्यदलका सम्पूर्ण सदस्यहरुलाई पनि आमन्त्रण गरेर छलफल गर्ने छौं। त्यसपछि नै सांगठनिक एकीकरणको प्रक्रिया कसरी टुंगो लगाउने भन्ने बारेमा आवश्यक निर्णय गरिने छ।'

गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए।

कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। तर, केही दिनअघि मात्रै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको थियो।