एक वर्षमा २५ प्रतिशत मात्रै काम

एक वर्षमा २५ प्रतिशत मात्रै काम

धनगढी : निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य सुस्त देखिएको छ । 

दुई वर्षमा सक्नुपर्ने सडक निर्माणको कार्य एक वर्ष भन्दा बढी समय हुदा पनि २५ प्रतिशत मात्रै सम्पन्न भएको छ । 

सडक निर्माणमा देखिएका मुख्य समस्या समाधान भएपनि अझै निर्माणस्थलमा जथाभावी पार्किङ, केही घर धनीले अझै सरचना नभत्काउनु लगायतका कारण निर्माणमा अझै बाधा उत्पन्न भईरहेको आयोजनाले जनाएको छ । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि गत वर्षको जेठ देखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अव एक वर्ष पनि बाकी छैन । 

तर, मोहनापुलदेखि वोराडारी, वोराडाडीदेखि गेटा माछा पालन र माछापालनदेखि अत्तरीयासम्म गरि तिन भागमा निर्माण भईरहेको सडकको निर्माण भने निकै सुस्त गतिमा भईरहेको छ ।

आयोजना प्रमुख मनिष शाहका अनुसार सडकको निर्माण कार्य हालसम्ममा २५ प्रतिशत मात्रै भएको छ । 

यसअघि रुख कटानी आदेश ढिला गरि प्राप्त हुनु, विजुलीका तार र पोलको व्यवस्थापनमा ढिलाई, मुआब्जा पाउनुपर्ने माग गर्दै केही घर धनीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि निर्माण कार्य प्रभावित भएको थियो । 

तर, अहिले सवै समस्या हल भएर सडक क्षेत्र खाली भईसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । अझै पनि केही घर धनीले सरचना भत्काउन अटेरी गर्नु, निर्माण स्थलमा जथावाभी पार्किङ गरिदिदा निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको आयोजनाले जनाएको छ । 

यसका साथै सुरुमा अत्तरीया क्षेत्रमा भौतिक सरचना हटाउन सक्रिय भूमिका खेलेको गोदावरी नगरपालिकाले नै आफनो भवन र हुलाक कार्यालय भत्काएको छैन । जसका कारण पनि निर्मार्ण कार्यमा बाधा पुगेको आयोजना प्रमुख शाहले बताए ।

निर्माण कार्यमा ढिलाई हुदा जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको रकम फ्रिज हुँदै छ । उक्त आयोजनाको करिब २४ करोड फ्रिज हुन लागेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । 

आयोजनाको चालु आर्थिक वर्षको कुल बजेट ५१ करोड ८१ लाखमा असार २५ सम्ममा २४ करोड २१ लाख २३ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको ४६.७३ प्रतिशत मात्रै हो ।

आयोजना प्रमुख शाहले चालु आर्थिक वर्षको विनियोजित बजेट विभिन्न कारणले खर्च गर्न नसकिने देखेपछि गएको चैतमै २० करोड विभागमा फिर्ता गएको बताए । 

‘२० करोड फिर्ता गएपछि चालु आर्थिक वर्षमा ३१ करोड ८१ लाख बराबरको निर्माण काम सम्पन्न गर्नुपरेको थियो,’ आयोजना प्रमुख शाहले भने, ‘तर असार मसान्तसम्ममा त्यो ३१ करोड ८१ लाख खर्च गर्न सकिएन, करिब २८ करोड जति मात्रै खर्च गर्न सकिने जस्तो भयो । २ करोड फेरि फिर्ता जाने जस्तो देखिन्छ ।’

खानेपानीको पाइप, बिजुली र टेलिफोनका पोल सम्बन्धित निकायले सार्न नसकेकाले अहिले सडक निर्माण कामले गति पाउन नसकेको सडक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका लक्ष्मण साउदले बताए ।

ठेक्का सम्झौता भएपछि सुरुको लामो समयसम्म सरकारले सडक छेउका वन र भौतिक संरचना हटाउन ढिलाइ गरेका कारण चालु वर्षमा सम्पन्न गर्नुपर्ने लक्ष्यअनुसारको निर्माणको काम सम्पन्न गर्न नसकेको साउदले बताए । 

सडक आयोजनाको निर्माण कार्य तिव्र रुपले अगाढी बढाउने विषयमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, आयोजना प्रमुख शाह र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीविच छलफल भएको छ । 

सो क्रममा आयोजना प्रमुख शाहले निर्माणाधिन सडकमा भईरहेको जथावाभी पार्किङले समस्या भईरहेकोले त्यसलाई व्यवस्थापन गरिदिन ट्राफिक प्रहरीलाई आग्रह गरेका थिए ।

सो क्रममा केहीदिन भित्रै निर्माणाधिन सडकमा जथावाभी भईरहेको पार्किङ समस्या समाधान गर्ने सहमति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल कुमार उप्रेती जानकारी दिए । 

उपमहानगरपालिकाले निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकमा पर्ने बैकहरुलाई सडकमा पार्किङ नगर्न समेत निर्देशन दिएको बताएको छ । 

१ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको प्रदेश ७ को आर्थिक विकाश र सम्बृदिसग जोडिएको छ लेन सडक हालसम्ममा करिव ४० प्रतिशत भन्दा निर्माण हुनुपर्ने हो । 

तर, हालसम्ममा २५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न हुनुले छ लेन सडक समयमै सम्पन्न हुनेमा आशका उब्जाएको छ । 

गत वर्ष १० करोड रुपैया खर्च भएको सडकमा चालु आर्थिक वर्षमा ३० करोड मात्रै खर्च भएर २१ करोड रुपैया फ्रिज जाने निश्चित भएको छ ।

सडकलाई समयमै सम्पन्न गर्नका लागि सरोकारवालाले लाग्न सर्वसाधारणले आग्रह गरेका छन ।