सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा

सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा

 नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ । 

नेपाली कांग्रेस भक्तपुरले आज मध्यपुर थिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले सरकारले एक वर्षको अवधिमा नागरिकलाई करको भार मात्रै बढाएको बताउनुभयो । सभापति देउवाले नागरिकको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउदै दुई तिहाईको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधिहरु गरिरहेको जिकिर गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि सरकारले  दोषीलाई कारबाही गर्न सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।’  

कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले नागरिकले मुल्यांकन गर्न मिल्ने गरी कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । नेता सिंहले कम्युनिष्ट सरकारले संघीयतालाई बचाउन सक्ने गरी काम गर्न नसकेको आरोप लगाउनुभयो । 

कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले नागरिकलाई कर र महंगी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन थापा, क्षेत्र नं. २ का सभापति नारायण खायमली लगायतका नेताहरुले सरकारले नागरिकको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।