सरकार भन्छ, ऐनहरु बन्नु महत्पूर्ण उपलब्धि, प्रतिपक्ष भन्छ, सरकार भाषणमै रमायो

सरकार भन्छ, ऐनहरु बन्नु महत्पूर्ण उपलब्धि, प्रतिपक्ष भन्छ, सरकार भाषणमै रमायो

प्रदेश सरकार गठन भएको शुक्रबार एक बर्ष पुरा भएको छ । गत बर्ष फागुन ३ गते तत्कालीन नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट तत्कालीन नेकपा एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

यसबीचमा मुख्यमन्त्री भट्टको दल र उहाँलाई समर्थन गर्ने दलको एकिरण भइ एउटै पार्टी बनेको छ । मुलुकमै नया अभ्यासका रुपमा आएको प्रदेश सरकार एक बर्षको अवधिमा कानून निर्माण र अनय ब्यवस्थापकीय काममै जुट्यो । जनताले अनुभव गर्नेगरी प्रत्यक्ष विकासका कामहरु हुन सकेनन् ।

सरकारले भने एक बर्षमा महत्वपूर्ण उपलब्धी भएको बताएको छ भने प्रतिपक्षले सरकार भाषणमा मात्रै सिमित भएको भन्दै आलोचना गरेको छ । प्रदेश सरकार गठन भएको शुक्रबार एक बर्ष पुरा भएको छ ।

गत फागुन ३ गते प्रदेश प्रमुख मोहनराज मल्लबाट मुख्यमन्त्रीमा नियुक्त भएको पत्र बुझनुभएका नेकपाका नेता त्रिलोचन भट्टले फागुन ५ गते आफ्नो पूर्ण मन्त्रीमण्डल सहित सपथ ग्रहण गर्नुभएको थियो । सरकारले एक बर्षको अवधिमा दुईवटा बजेट पेश गरेको छ । तर दीर्घकालीन प्रभाव पार्ने योजना दिन प्रदेश सरकार दुईवटै बजेट असफल भएका छन् ।

चालू आर्थिक बर्षको पूर्ण बजेटको प्रकृति हेर्दा वितरणमुखी बजेट रहेको अर्थशास्त्रका विद्यार्थीहरुको भनाई छ । यसबीचमा सरकारले प्रदेश सभामा २० वटा विधेयक पेश गरेको छ । जसमध्ये १८ वटा पारित भएका छन् भने दुई माथि प्रदेश सभाको तेस्रो अधिबेशनमा छलफल जारी छ ।

ऐन बनाउने कुरालाई आफ्नो महत्वपूर्ण उपलब्धी मानेको प्रदेश सरकारले कर्मचारीको अभाव समेत ब्यहोरिरेहको छ । खासगरी बिभिन्न मन्त्रालयमा आउने सचिवहरु छिट्टै सरुवा लिएर फर्कने प्रवृतिले प्रदेश सरकारले गति लिन सकेको छैन् । बिश्लेषकहरुका भनाई अनुसार सरकारले भएकै कर्मचारीहरुको पनि प्रयोग गरेर कामलाई मूर्तता दिन सको छैन् ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह ऐन निर्माण नै सरकारको एक बर्षको उपलब्धी रहेको बताउनुभयो । जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री शाह कर्मचारीको अभावका कारण प्रदेश सरकारका आफ्ना संरचना स्थापना गर्ने क्रममै समस्या भएका कारण काम गर्न नसकिएको बताउनुभयो । प्रतिपक्षी दलले भने सरकार भाषणमै रमाइरहेको आरोप लगाएको छ ।

प्रतिक्षी दल नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैका सरकार भाषणमा सबै प्रदेश भन्दा अब्बल रहेको, तर काम हेर्दा शुन्यको स्थिति रहेको बताउनुभयो । नया संरचना र नया अभ्यासका कारण शुरुको बर्षको ढिलाईलाई स्वाभाविक मान्न सकिए पनि यस पछिका दिनमा भने प्रदेश सरकारले जन अपेक्षा अनुसार देखिने गरी काम गर्नुपर्ने आवश्यकता छ ।