बझाङमा वर्षासँगै फेरि हिमपात

बझाङमा वर्षासँगै फेरि हिमपात

बझाङ : बझाङ जिल्लामा फेरि हिमपात भएको छ । बुधबार बिहानदेखि वर्षासँगै हिपात भएपछि जिल्लाभरिको जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै परेको हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको हो । बझाङ जिल्लाका दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य ठाउँहरूमा हिमपात भएको स्थानीयले बताएका छन् ।

यसवर्ष हिउँदे झरीसँगै तीनपटक पहाडी जिल्लामा हिमपात भएको छ । बुधबार बिहानदेखि झरीपर्ने थालेपछि बझाङ जिल्लाको अग्ला डाँडाकाँडामा हिमपात भएको छ ।

सेती नदी छेउछाउका बस्तीमा हिउँ नपरे पनि छान्ना लेखगाउँ, चिरवित्थड, तल्कोट सुर्मा कडेल, दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टा क्षेत्रका डाँडाकाँडा र बस्तीमा हिउँ परेको छ ।

सदरमुकाम चैनपुरनजिकै धामीलेख डाँडामा रहेका बस्तीमा पनि हिउँ परेको छ । वर्षासँगै हिउँ पर्न थालेपछि अत्यधिक चिसो बढेको छ । मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् भने वस्तुभाउ पनि गोठमै छन् ।

बझाङ आउने सडक श्रीभाव खोड्पेमा पनि हिउँ परेको हुँदा आज जिल्लाबाट धनगढी महेन्द्रनगर जाने यातायतका साधन गुडेका छैनन् र जिल्ला बाहिरबाट आउने यातायतका साधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

यही माघको दोस्रो साता पनि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको थियो ।