पक्राउ परेका प्रहरीकै भाइको घरमा भेटियो थप साढे पाँच किलो सुन

पक्राउ परेका प्रहरीकै भाइको घरमा भेटियो थप साढे पाँच किलो सुन

भारतबाट अवैध सुन भित्र्याएर ससुरालीमा लुकाएर राखेको पाइएपछि पक्राउ परेका प्रहरी जवान सुरज तिरुवाकै भाइको घरमा थप साढे पाँच किलो सुन प्रहरीले बरामद गरेको छ । गएराति शुक्लाफाँटा नगरपालिकामा रहेको सुरजका भाइ लक्ष्मण तिरुवाको घरबाट पाँच किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले जानकारी दिए ।

उनका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएको सुन कम्तिमा पनि २४ किलो रहेको अनुमान गर्दै अनुसन्धान अघि बढाइएको थियो । यसअघि पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा थिए । पक्राउ परेका तिरुवा दाजुभाइको बयानका आधारमा लक्ष्मणको घरमा लुकाएर राखिएको अवस्थामा साढे पाँच किलो सुन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो । उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो । प्रहरीका अनुसार यो अवैध सुन हो । 

सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ । प्रहरीका एक अधिकारीले भने, ‘‘दुई महिनाअघि नै सुन कैलाली पुगेको रहेछ । लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन् ।’’ सुन कैलाली पुर्याएपछि लक्ष्मण फरार भएका थिए । 

लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनी लुकाएर राखेका थिए । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ ।