नदिमा क्रसर सञ्चालन गर्न दिन आग्रह

नदिमा क्रसर सञ्चालन गर्न दिन आग्रह

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले जिल्ला समन्वय समिति कैलालीलाई ठेकेदार कमपनीलाई गोदावरी नदीमा अस्थायी क्रसर सञ्चालन गर्न दिन भन्दै पत्र लेखेको छ । 

गोदावरी नदीमा क्रसर सञ्चालन गरेको सो सडकको मोहनापुल देखि बोराडाँडीसम्मको खण्डमा निमार्णको जिममा लिएको ठेकेदार कम्पनी शर्मा, अमर, नागार्जुन जेभीका पाँच जना कर्मचारी जिल्ला समन्वय समितिको पत्रका आधारमा प्रहरीले पक्राउ गरेपछि आयोजनाले समन्वय समितिलाई पत्र लेखेको हो ।

जिल्ला प्रहरी कार्यालयमा निर्माण कम्पनीका कर्मचारीहरु भने अबदेखि नदीमा क्रसर सञ्चालन नगर्ने सर्तमा कागज गरेर रिहा भएका छन् । समन्वय समितिलाई आयोजनाले लेखेको पत्रमा त्रसर विना सडकमा राख्नुपर्ने ग्राभेलको गिट्टीको अकार एकै किसिमको हुन नसक्ने भएकोले सञ्चालन गर्न दिन आग्रह गरेको छ ।

जिल्ला समन्वय समितिलाई आयोजनाका निमित्त प्रमुख खगेन्द्र बहादुर शाहीले माघ २९ गते लेखेको पत्रमा सो सडक आयोजना नेपाल सरकारको प्राथमिकतामा परेको आयोजना भएकोले निर्माणमा अवरोध हुने गरी ठेकेदारको काम बन्द नगर्न आग्रह गरिएको छ । 

ठेकेदार कम्पनीले अस्थायी क्रसर सञ्चालन गरेको क्षेत्रमा ६ लेन सडक आयोजनाले प्रारम्भिक वातावरणीय परीक्षण गरेको जानकारी दिँदै आयोजनाले सो को प्रतिवेदन समेत समन्वय समितिलाई दिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले सरकारको प्राथमिकतामा परेको आयोजनाको कामलाई ढिलाई गर्ने आफ्नो मनसाय नरहेपनि वातावरणमा प्रतिकूल असर पार्ने गरी नदीमै क्रसर लगाएर उत्खनन तीब्र पारिएपछि आफुले रोकेको बताउनुभयो ।  

प्रमुख थापाले सो क्षेत्रमा क्रसर सञ्चालन गर्न दिने वा नदिने बिषयमा आइतबार अनुगमन तथा समन्वय समितिको बैठकमा हुने छलफलबाट निष्कर्ष निकालिने जानकारी दिनुभयो ।