राप्रपा (संयुक्त) ले राष्ट्रिय स्वाभिमान यात्रा शुरू गर्ने

राप्रपा (संयुक्त) ले राष्ट्रिय स्वाभिमान यात्रा शुरू गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । 

मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पुर्‍याउने अभियान छिट्टै शुरू गर्न लागेको पार्टीले जनाएको छ । 

केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा। प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले बुधवार पदवहालीका क्रममा देशको पहिचान कायम राख्न हिन्दू राष्ट्रको महत्व रहेको बताउँदै जनताको विकास र समृद्धि भए मात्र परिवर्तन संस्थागत हुनसक्ने बताए ।  हालै एकीकरण भएको उक्त पार्टीले एक महिनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण तथा एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्नेछ । 

यसैबीच कमल थापा नेतृत्वको राप्रपाले हिन्दू राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षालगायत उद्देश्यले यही फागुन १५ गते ताप्लेजुङदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरू गर्ने भएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने छ । यसपछि कञ्चनपुरबाट सो यात्रा बुटवल पाल्पा, स्याङ्जा, कास्की हुँदै आगामी फागुन २९ गते उपत्यका प्रवेश गर्ने र ३० गते विशालसभा गरी समापन गर्ने छ । 

यात्रालाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी यात्राको सम्पूर्ण तयारी गरिएको छ भने जिल्लाको तयारीका लागि केन्द्रबाट विभिन्न चार टोली पठाइएको पार्टीका नेतृ कुन्तिदेवी पोखरेलले जानकारी दिइन् ।