सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १२२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाइ १२१ रन मात्रै बनाउन सक्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे ।
५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । उनले ऋत गौतमसाग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । ऋत सहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रनमा आउट भए ।
रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १/१ विकेट लिए ।
अत्तरियाले पहिलो खेलमा धनगढीलाई पराजित गरेको थियो ।रुपन्देही पहिलो २ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ। र, सीवाइसी अत्तरियासँगको खेल जितेमा टोलीको प्ले अफ स्थान पक्का हुनेछ।
सीवाइसी अत्तरियाले प्रेम तामाङको स्थानमा ऋत गौतमलाई खेलाएको छ। रुपन्देहीले पहिलो २ खेल जितेको खेलाडीलाई नै निरन्तरता दिएको छ।