विश्व ८ औ रेडियो दिवस धनगढीमा मनाईयो

विश्व ८ औ  रेडियो दिवस धनगढीमा मनाईयो

आज ८ औ विश्व रेडियो दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।  स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता हरेक बर्ष यसै दिन विश्व रेडियो दिवस मनाइन्छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

आज धनगढीमा पनि अन्तरक्रिया कार्यक्रम गर्दै ८ औ बिश्व रेडियो दिवस मनाइएको छ । संघियता संस्थागतका लागि स्वतन्त्र र रेडियोको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौगोलिक बिकटता रहेको नेपाल र अझ बिकट रहेको सुदुरपश्चिम प्रदेशमा रेडियो नै सर्बसाधारणका लागि सञ्चारको प्रभावकारी माध्यम बनेको बताउनुभयो ।

 मुख्यमन्त्री भट्टले समय परिवर्तन संगै नयाँ प्रबिधिको आवागमन भएपनि रेडियोको महत्व अझ बढेको बताउनुभयो । नागरिक स्वतन्त्रताका लागि रेडियोले महत्वपूर्ण भुमिका खेल्दै आएकोले संघियता कार्यान्वयन र सफल पार्नमा पनि रेडियोको स्थान पहिलो नम्बरमा रहेको उहाँले बताउनुभयो ।

अहिले रेडियो संख्यात्मक रुपमा निकै बृद्धि भएको र   गुणात्मक सुधारमा पनि ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्रीको सुझाव थियो । उहाले प्रदेश सरकारका तर्फ बाट गर्नुपर्ने सहयोग सदैव रहने प्रतिबद्धता समेत जनाउनुभयो । प्रदेशको सञ्चारको जिम्मेवारी समेत लिनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सबैले सञ्चार क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो ।

पत्रकारहरुले अन्यायमा परेकाहरुको हकहितका लागि बोल्नुपर्ने, अत्याचार र भ्रष्टाचारका बिरुद्ध बोल्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशको सञ्चार नीति बनाउदा पत्रकार महासंघका प्रतिनिधि र पत्रकारहरु संग बसेर सञ्चारकर्मीका समस्याहरु सम्बोधन हुने खालको नीति बनाउने मन्त्री शाहले बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्भिच प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल का नेता डा. रण बहादरु रावलले पत्रकारहरुका कारण मात्रै कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिा निर्मला पन्तका पक्षमा भएको न्यायिक आन्दोलनले उचाई प्राप्त गरेको बताउनुभयो । सरकारका बारेमा सञ्चार माध्यममा आएका कुरालाई पृष्ठपोषणका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्थानीय, सरकार पनि सिक्ने आवस्थामा रहेका कारण सञ्चार माध्यमले स्वस्थ रुपमा आलोचना गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यम जनता र जनप्रतिनिधिहरुबीचको पुल बन्नसकुनपर्ने बताउनुभयो । बताउनुभयो । 

पत्रकारले समस्याको उजागर मात्रै होइन, साथै समाधानका उपाय पनि दिनुपर्ने उहाको भनाइ छ । ब्रोडकास्टिङ एसोसिएसन नेपालको सुदुरपश्चिम प्रदेश समितिद्वारा ८ औ विश्व रेडियो दिवसको अवसरमा आयोजित संघियता संस्थागतका लागि स्वतन्त्र रेडियोको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बिभिन्न रेडियोबाट आएका सञ्चारकर्मीहरुले पत्रकारका समस्याबारे बताएका थिए ।

उनीहरुले समाचार लेखेकै कारण पत्रकारमाथि आक्रमणको अवस्था आउने गरेको भन्दै प्रदेश सरकारले सुरक्षाको अनुभुति दिलाउनुपर्ने बताएका थिए ।