हिरो वुमन्स गोल्डकपमा नेपालले इरानसँग खेल्दै, जित्नै पर्ने दबाव

हिरो वुमन्स गोल्डकपमा नेपालले इरानसँग खेल्दै, जित्नै पर्ने दबाव

हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको यो खेलमा नेपालले जित हात पारे फाइनल पुग्ने सम्भावना नेपालको प्रबल रहेको छ । इरानसँग बराबरी खेले पनि नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग पराजित हुनु पर्ने हुन्छ ।

स्थानीय समयअनुसार दिउँसो चार बजे हुने खेलमा नेपाल स्पष्ट जित निकाल्ने लक्ष्यमा छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २-१ गोलअन्तरले पराजित गर्दै उच्च मनोबल बनाएको छ । यता इरान भने यसअघिका दुवै खेलमा हार्दै प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् ।