काठमाडौंको लगातार दोस्रो जित

काठमाडौंको लगातार दोस्रो जित

धनगढी : काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको हो ।

१३५ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सक्यो । महेन्द्रनगरका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन् ।

अमरसिंह रौटेलाले अविजित २८ रन बनाएपनि अन्तिम ओभरमा आफ्नो टिमलाई जित दिलाउनबाट चुके । त्यस्तै, महेन्द्रनगरका कप्तान शरद भेषावाकरले २३ रन र आरिफ शेखले १८ रन बनाए ।

बलिङतर्फ रसिद खानले तीन र अंकिद दबासले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।

अंकित दबास ६५ रनमा अविजित रहे पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा काठमाडौं मध्यम स्कोरमै समेटिएको थियो ।

काठमाडौंका लागि अन्य ब्याट्सम्यान योगेन्द्रसिंह कार्की २२ रनमा अविजित रहदा कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाए । बलिङतर्फ अमरसिंह रौटेलाले दुई विकेट लिए ।

महेन्द्रनगरले यसअघि रुपन्देही च्यालेन्जर्ससँग दुई रनको हार ब्यहोरेको थियो । यता, काठमाडौं गोल्डेन्सले भने आफ्नो पहिलो खेलमा धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको थियो ।