आठौँ राष्ट्रिय खेलकुद : प्रदेशस्तरीय छनोट शुक्रबारदेखि

आठौँ राष्ट्रिय खेलकुद : प्रदेशस्तरीय छनोट शुक्रबारदेखि

बैतडी : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि सञ्चालन हुने भएको छ। 

यही फागुन ३ गते शुक्रबारदेखि १७ गतेसम्म हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता दार्चुला, बझाङ, कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।  

भलिबल पुरुष छनोट फागुन १४, १५ र १६ गते दार्चुलामा, भलिबल महिला छनोट फागुन १०, ११ र १२ गते बझाङमा हुने भएको छ। छनोट प्रतियोगितामा एथ्लेटिक्स फागुन ३ देखि ५ गतेसम्म, खोखो महिला पुरुष फागुन ३ देखि ६ गतेसम्म, ह्याण्डबल महिला पुरुष ३ देखि ७ गतेसम्म, बास्केटबल फागुन ४ र ५ गते, ब्याटमिन्टन फागुन ३ देखि ५ गतेसम्म, कबड्डी महिला पुरुष फागुन ६ देखि १२ गतेसम्म र फुलकन्ट्रयाक्ट कराँते फागुन ७ र ८ गते हुने भएको छ । 

जुडो फागुन ९ गते,टेबलटेनिस फागुन १० देखि १२ गतेसम्म, फुटबल महिला पुरुष फागुन ११ देखि १७ गतेसम्म, क्रिकेट महिला पुरुष फागुन ९ देखि १६ गतेसम्म , भारोत्तोलन १४ र १५ गते, सेपाकताक्रो फागुन १४ र १५ गते र कुस्ती छनोट प्रतियोगिता फागुन १४ र १५ गते हुने जनाइएको छ ।   यस्तै बुद्धिचाल र तेक्वान्दो फागुन १४ देखि १६ गतेसम्म,कराते फागुन १५ देखि १७ गतेसम्म र सुटिङ छनोट प्रतियोगिता फागुन १४ र १५ गते हुने सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।  

एथ्लेटिक्स, खोखो, ह्याण्डबल, बास्केटबल, ब्याड्मिन्टन, कबड्डी, कराँते, जुडो,टेबलटेनिस, फुटबल, क्रिकेट, भारोत्तोलन, कुस्ती, बुद्धिचाल, तेक्वान्दो, सुटिङ लगायत खेलको महिला तथा पुरुष छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने भएको छ। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आठौँ राष्ट्रिय खेलकुदको प्रतियोगितामा सहभागी हुन पाउनेछन्।    

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाको जिल्लास्तरीय छनोट प्रतियोगिता गत पुसमा नै सम्पन्न भइसकेको छ। प्रदेशस्तरिय छनोट प्रतियोगिताका लागि मिति सार्वजनिक भए पनि राष्ट्रिय खेलकुद प्रतियोगिता मिति भने अझै पनि तोकिएको छैन।  

यसअघि प्रदेश ५ मा मंसिरमा हुने भनेर तय भए पनि प्राविधिक कारण देखाउँदै माघ २५ देखि फागुन ३ गतेसम्म तोकिएको थियो। तर उक्त मिति पनि सारेर खेलकुद सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकोले फागुनमा गर्ने भनेर भनिएको छ।   

फागुनमा गर्ने भनेर भनिएको भएपनि अझै पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मिति भने सार्वजनिक गरिएको छैन।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नहुँदा खेलाडी अन्योलमा परेका छन्। प्रतियोगितामा सातओटै प्रदेश र ३ विभागीय टोलीका विभिन्न खेलका खेलाडीहरू सहभागी हुने बताइएको छ।