एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा परीक्षाको तयारीका विषयमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा चासो व्यक्त गर्नुभएको थियो ।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बैंठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसवर्ष कुल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिनुभयो । उहाँले यस वर्ष प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

बरालले उत्तरपुस्तिका परीक्षणका लागि झण्डै ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिनुभयो । एसईई परीक्षा चैत १० गतेदेखि सुरु हुँदैछ ।