रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित

रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित

धनगढी : विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शनमा रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दोस्रो जित हात पारेको छ।

पहिलो दिन महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमाञ्चक जित हात पारेको रुपन्देहीले मंगलवार विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो।

लगातार दुई जितपछि २ अंक जोडेको रुपन्देही अंक तालिकामा शीर्ष स्थानमा छ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुपन्देहीलाई जित दिलाउन बलिङमा ३ विकेट लिएका मेहराले ब्नयाटिङमा ४६ रन बनाए।

विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

ओपनर सन्दिप सुनार पहिलो ओभरको दोस्रो बलमै खाता नखोली बउट भएका थिए भने प्रदिप (ऐरी २) तेस्रो ओभरमा आउट भए। त्यसपछि विनोद भण्डारी ७ रन बनाएर आउट हुँदा रुपन्देही ३.१ ओभरमा १९-३ को अवस्थामा थियो।

तर पुनित मेहराले बाबर हायतसँग चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेपछि रुपन्देहीले स्कोर उकासेको थिए। मेहराले २७ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा ४६ रन बनाए।

यस्तै बाबर हायतले १७ रन योगदान गरे। १४औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै जित दिलाएका भिम शार्की १२ रनमा नटआउट रहे। कप्तान बसन्त ८ रनमा नटआउट रहे।

विराटनगरका लागि उत्कृष्ट बलिङ गरेका अभिनाश यादवले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले रुपन्देहीका बलरको धारिलो बलिङ सामु ९ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि नवौँ नम्वरमा ब्याटिङ गरेका राजेश पुलामी मगरले १४ बल खेल्दै १ छक्काको मद्दतमा नटआउट १७ रन बनाए। यस्तै असादुल्लाह खानले १६, अभिनाश यादवले १२ तथा सांसद शेखले १० रन बनाए। ७ खेलाडीले दोहवरो अंक छुन सकेनन्।

रुपन्देहीका लागि पुनित मेहराले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए। उनले ३ क्याच समेत लिए। यस्तै कप्तान बसन्त रेग्मी र ललित भण्डारीले २- २ विकेट लिए। ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चे भने बसन्तले ४ ओभरमा १४ रन खर्चे।

कृष्ण कार्की र विकरम सोबले १-१ विकेट लिए। कृष्णले खसादुल्लाहलाई भिम शार्कीको उत्कृष्ट क्याचमार्फत आउट गराएका थिए।