आजको पहिलो खेलमा धनगढी स्टार्स ५ रनले पराजित

आजको पहिलो खेलमा धनगढी स्टार्स   ५ रनले पराजित

धनगढीमा जारी तेस्रो रुस्लान धनगढी  प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दोश्रो खेलमा पराजित भएको छ। प्रतियोगिताको दोश्रो दिनमा पहिलो खेलमा धनगढीलाई सिवाईसी अत्तरियाले ५ रनले पराजित गरेको हो। ९६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतीमा ९० रन मात्रै बनाउन सक्यो।

मध्यम सुरुवात गर्दै पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । तर सुविन्धु पाण्डे मात्र तीन रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो ।

त्यसको लगत्तै अर्का ओपनर जयकिशन कोल्सावाला ब्यक्तिगत २१ रनमा आउट हुँदा अत्तरीयाले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । कप्तान दिपेन्द्र ऐरी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन । उनी ११ रनमा पेभेलियन फर्किदा अत्तरीयाको स्कोर ४५ रन थियो । उसले स्कोरबोर्डमा अरु २० रन थप्दा थप २ विकेट गुमायो । प्रेम तामाङ १२ रनमा आउट भए भने सन्दिप जोरा मात्र २ रनमा पेभेलियन फर्किए ।

अत्तरीयाका लागि सन्नी पटेलले अविजीत ३५ रनको योगदान गरे । बलिङमा धनगढीका राहेन मुस्तफाले २ तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले १÷१ विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा ९ विकेट गुमाउँदा ९० रनमा रोकियो । फितलो ब्याटिङ गरेका धनगढीले १० रन हुँदा पहिलो विकेट गुमायो भने ६५ रन बनाउदा ६ विकेट खेर फाल्यो । उसका ओपनर सुनील धमला ४ रनमा आउट भए भने पहिलो खेलमा अर्धसतक बनाएका अमित श्रेष्ठले खाता खोल्न सकेनन ।

त्यसपछि विदेशी खेलाडी रोहन मुस्तफा १८ रनमा पेभेलियन फर्किदा पवन सराफले पनि खाता खोल्न सकेनन । एकपछि अर्को विकेट गुमाएको धनगढीका कप्तान सोमपाल कामीपनि १० रनमा आउट हुँदा सन्दिप रजाइली मात्र ११ रनमा बाहिरीए । लगत्तै अमिर हायातपनि चार रनमा पेभेलियन फर्किएपछि धनगढीले ७० रनमा सात विकेट गुमायो । लगत्तै सौरभ खनालपनि आउट हुँदा उसले ८ विकेट गुमायो ।

अन्तत धनगढी ९० रनमा रोकियो । अन्तिम बलमा धनगढीलाइ जितकालागि ६ रन चाहिएको थियो, तर राजु रिजाले प्रहार गर्न सकेनन । उनले अविजीत २६ रन बनाए ।

अत्तरीयाको जितको आधार उसको उत्कृष्ट बलिङ र फिल्डिङ बन्यो । बलिङमा भुवन कार्कीले ४ तथा सन्नी पटेलले २ विकेट लिए । भुवनले चार ओभरमा मात्र १० रन खर्चिएर चार विकेट लिएका हुन ।अबको केही बेरमा दोस्रो खेलमा बिराटनगर किग्स र रुपन्देही च्यालेन्जर्स भिड्ने छ्न ।