नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कपअन्तर्गत दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपाल प्रतियोगिताको फाइनल पुग्ने आशा जीवित राख्न जित दर्ता गर्नुपर्ने दबाबमा हुनेछ । यद्यपी नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको इतिहास छैन ।

भारतविरुद्ध पछिल्लो भेटमा नेपालले बराबरी खेलेको थियो । नोभेम्बरमा भएको ओलम्पिक छनोटमा नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा १-१ को बराबरीमा रोकिएको थियो ।

भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यस खेलमा जित दर्ता गरे भारत फाइनलमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ । साफ च्याम्पियनसिपका तयारीका रुपमा रहेको यस प्रतियोगिता भारत र नेपाल दुवै टोलीलाई फाइदाजनक हुनेछ ।

अंकविहिन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ । भारत ३ अंकसहित दोस्रो स्थानमा छ । गोलअन्तरको आधारमा ३ अंक नै जोडेको म्यानमार शीर्षस्थानमा रहेको छ । इरान तेस्रो स्थानमा छ ।