बर्दियामा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनको शव आइतबार बिहान ८ बजे वडा नम्बर ६ स्थित ओरही पुलदेखि करिब ५ सय मिटर तल फेला परेको हो। उनी शनिबारदेखि बेपत्ता थिए।

शनिबार उनी शिवपुरफाँटा सामुदायिक वनमा भैंसी चराउन गएका थिए। उनीसँगै गएका व्यक्तिहरू फर्किएपनि गोरे रातिसम्म फर्किएका थिएनन्।

फेला नपरेपछि राति आठ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा प्रहरीलाई खबर भएको थियो। सो खबरसँगै बर्दिया राष्ट्रिय निकुञ्जबाट जम्दार जयबहादुर चन्दको कमाण्डमा ८ जना र तीन वटा हात्तीसहितको टोली खटिएको थियो।

खोजी गर्ने क्रममा उनको बिहान शव फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताए। बाघको आक्रमणले थापाको टाउको र शरीर छुट्टिएको थियो। दाहिने खुट्टा पनि छुट्टिएको थियो।