सेतीमा भिआईपीका लागि छुट्टै उपचार कक्ष स्थापना गरिदै

सेतीमा भिआईपीका लागि छुट्टै उपचार कक्ष स्थापना गरिदै

धनगढी : धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा विशिष्ट व्यक्ति (भिआईपी) का लागि छुट्टै उपचार कक्ष स्थापना गरिने भएको छ । 

त्यसका लागि अस्पताल प्रशासनले कक्षको टुङगो लगाई सकेको छ भने सोमवारदेखि निर्माण कार्य सुरु गरिएको छ ।  

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सजन केसीले भने, ‘अस्पतालमा विशिष्ट व्यक्तिका लागि छु्ट्टै कक्षको व्यवस्था नहुदा समस्या भईरहेको छ । त्यसैले स्थापना गर्न सुरु गरेका छौ ।’

उनका अनुसार पहिले डाइलसिस राखिएको कक्षलाई विशिष्ट ब्यक्तीहरुको उपचारका लागी तयार गर्न लागिएको हो । 

‘उक्त कक्षमा पहिले डाईलसिस मेसिन राखेका कारण एसी जडान गरिएको छ भने वाथरुमको पनि सुविधा छ ।’ मेडिकल सुपरिटेण्डेन्ट केसीले भने, ‘उक्त कक्षलाई विशिष्ट व्यक्तिको उपचारका लागि तयार गर्न धेरै समय लाग्दैन ।’

‘यति दिनमा नै तयार हुन्छ भनेर भन्न सकन्छि । तर, बढीमा एक हप्तामा सेती अञ्चल अस्पतालमा विशिष्ट व्यक्तिको उपचारका लागि कक्ष तयार गर्छौ ।’ उनले भने । 

‘यसअघि अस्पतालमा विशिष्ट व्यक्तिको उपचारका लागि कक्ष नहुदा समस्या थियो ।’ केसीले भने, ‘अव त्यो समस्या समाधान हुन्छ । असार १३ गते प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट विरामी हुदा सेती अञ्चल अस्पताल पुगेका थिए । 

त्यहा भट्टलाई कर्मचारी कोठा (स्टाफ रुम) मा लगेर चिकित्सकले सामान्य चेकजाच गरे तर, उनलाई सलाईन चढाउनुपर्ने भएका कारण करिव दुई घण्टा जति राख्नुपर्ने थियो । 

राम्रो वेड नभएको र सुरक्षाका दृष्टिले पनि त्यहा राख्न नमिल्ने बताएपछि मुख्यमन्त्रीको उपचार निवासमै गरियो ।  सेती अस्पतालका आकस्मिक कक्ष ईञ्चार्ज मुख्यमन्त्रीको निवासमै गएर उपचार गरे ।


सर्वसाधारणले वेड नपाएर भुईमा उपचार गराउनुपर्ने बाध्यता रहेको बेला मुख्यमन्त्री भट्टले भने राम्रो वेड नभएको भन्दै निवासमा उपचार गराएको भन्दै सर्वत्र विरोध भयो ।

मुख्यमन्त्रीको पद्भार ग्रहण गरेलगत्तै सेती अञ्चल अस्पतालमा निरीक्षण गर्न पुगेका बेला भट्टले तत्काल अस्पतालको स्तरोन्नति गर्ने आश्वासन दिएका थिए । 

मुख्यमन्त्री भएर अस्पतालको स्तरोन्नतिका लागि केही गर्न नसकेका भट्ट राम्रो वेड नभएको भनि सेतीमा उपचार नरगाएर फर्किएपछि थप आलोचित हुन पुगेका थिए । 

त्यसपछि लगत्तै सामाजिक विकाश मन्त्री दिर्घ बहादुर सोडारीले तिन दिनमै सेती अञ्चल अस्पतालमा विशिष्ट व्यक्तिका लागि उपचार कक्ष स्थापना गर्ने बताएका थिए । 

सामाजिक विकाश मन्त्री सोडारीले एक हप्ताभित्र विशिष्ट व्यक्तिका लागि उपचार कक्ष स्थापना गर्ने बताएको दुई हप्तापछि सेतीमा विशिष्ट व्यक्तिका लागि उपचार कक्ष स्थापना गर्न सुरु गरिएको हो । 

‘मन्त्रीले एक हप्ता भित्रै भनेपनि प्रक्रिया पु¥याउनुपर्ने कारण केही ढिलाई भएको हो ।’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने, ‘तत्काल सेतीमा विशिष्ट व्यक्तिका लागि उपचार कक्ष स्थापनाका लागि ८ लाख रुपैया छुट्याएका छौ । आगामी वर्षमा त्यसका थप बजेट विनियोजन गरिने छ ।’

सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेपछि यहाँ विशिष्ट व्यक्तिको सख्या बढेको छ तर, हालसम्ममा विशिष्ट व्यक्तिको उपचारका लागि छुट्टै कक्ष भने स्थापना भएको छैन ।