आँखा शिविरबाट साढे तीन सयले सेवा लिए

आँखा शिविरबाट साढे तीन सयले सेवा लिए

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा सनिवार आयोजित एकदिने आँखा शिविरबाट ३४६ जनाले सेवा लिएका छन् ।

वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा प्रमोद अधिकारी र नेत्र अधिकृत वीर सिंह धामीले सेवासँगै प्राविधिक सहयोग गर्नुभएको थियो ।  शिविरमा आँखा जाँचका लागि पुगेकामध्ये ३० जनामा मोतिया विन्दुको समस्या देखापरेको नेत्र अधिकृत धामीले बताउनुभयो ।

मोतिया विन्दु भएका बिरामीको आइतबार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनामा आँखाभित्रको नशा फुलेको पाइएकाले उपचारका लागि अस्पतालमा जान सल्लाह दिइएको छ ।

शिविमा आँखाबाट आँसु बग्ने, जलविन्दु भएका, आँखामा सङ्क्रमण भएका र आँखामा मासु पलाएका बिरामीलाई निःशुल्क रूपमा शिविरमा औषधिसमेत वितरण गरिएको बताउनुभयो ।आँखा शिविरबाट सेवा लिनेमा ९० प्रतिशत दलित र बाँकी अन्य समुदायका व्यक्ति रहेका थिए ।

शिविर सञ्चालनका लागि रु एक लाख ५० हजार रकम खर्च लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । उहाँले वडाको रकमसँगै गेटा आँखा अस्पताल र झलारी स्वास्थ्य चौकीबाट समेत शिविरमा उपचारका लागि पुगेका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको बताउनुभयो ।