बल्ल पत्ता लाग्यो निर्मलाको हत्यारा

बल्ल पत्ता लाग्यो निर्मलाको हत्यारा

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ ।

सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् । सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बतायो ।

हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ ।निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।