सुदूपरिपश्चिम महोत्सवको कृषि प्रदर्शनीस्थलमा दर्शकको घुँइचो

सुदूपरिपश्चिम महोत्सवको कृषि प्रदर्शनीस्थलमा दर्शकको घुँइचो

धनगढी : कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको सुदूरपश्चिम महोत्सवमा आज तेस्रो दिन कृषि प्रदर्शनी स्थलमा दर्शकको घुइँचो लागेको छ ।

महोत्सवमा बिभिन्न स्टलहरु राखिए पनि बिभिन्न किसिमका कृषि उपजहरु राखिएको प्रदर्शनीस्थलमा नै दर्शहरुको घुइँचो छ ।

कृषि प्रदर्शनी स्थलमा ब्यवसायिक रुपमा गरिएको तरकारी खेती, च्याउ खेती, माछापालन, कुखुरा तथा अन्य पंक्षी लगायत प्रदर्शनी भइरहेको छ ।

महोत्सव परिसरमा खुला चौरबाट दक्षिणतिर रहेको बाल उद्यानतिर जाने बाटोमै रहेको कृषि प्रदर्शनी स्थलमा दर्शकहरुको भीड लागेको छ । प्रदर्शनी स्थल पुगेपछि सबैका आँखा कालो कुखुरा, टर्की, बट्टाई र लौकाट सहितको स्टलमा जान्छ ।

स्थानीय जातका कुखुरा संगै भारतको मध्यप्रदेशबाट ल्याइएको कडकनाथ जातको कालो कुखुरा, अनि टर्की, बट्टाई र लौकाटको ब्यवसायिक पालन गरिरहेका गोदावरी नगरपालिका गेटाका किसान समन तामाङलाई यी पंक्षीहरुको बारेमा सोध्नेहरुको भीड छ । दुई बर्ष देखि ब्यवसायिक रुपमा यी पंक्षीहरु पालिरहेका तामाङ प्रदर्शनी स्थलमा आएका दर्शहरुको उत्सुकता कालो कुखुराबारे बढी रहेको बताउनुभयो । 

पंक्षीबारे जानकारी लिइसकेपछि दर्शकहरुले गोब्रे च्याउबारे जानकारी लिने गरेका छन् । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडामा रहेको केरा च्याउ उद्योगका सञ्चालन गणेश रोका मगरले कन्ने च्याउ सबैतिर उत्पादन भइरहेकोले गोब्रे च्याउ आफुले मात्रै उत्पादन गरिरहेकोले यसैमा सबैको चासो रहेको बताउनुभयो ।

उहाँले गोब्रे च्याउको खेती गर्ने प्रविधिको बारेमा समेत अवलोकनकर्ताहरुले चासो राख्ने गरेको बताउनुभयो । डोटीको गडसेरामा ब्यवसायिक रुपमा शुरु गरिएको रेन्बो ट्राउट माछा प्रदर्शनीस्थलको तेस्रो आकर्षण हो । नुवाकोटबाट माछाका भुरा ल्याएर ल्याएर ब्यवसायिक रुपमा माछा पालन गरिरहेका लिलाधर बिष्टले दर्शकहरुले यो जातको माछा पालनको तरिका र बजार मुलयको बारेमा जानकारी लिने गरेको बताउनुभयो ।

उहाँले यो माछामा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने बिभिन्न तत्वहरु पाइने हुनाले यसको माग अत्यधिक रहेको बताउनुभयो । 

प्रदर्शनी स्थलमा अन्य कृषि उत्पादन ब्रो काउली सहितका तरकारीहरु राखिएका छन् । महोत्सवमा ब्यवसायिक स्टलहरुमा सामान किन्नेहरुको भीड रहे पनि कृषि पेशा गर्न चाहनेहरुले भने कृषि प्रदर्शनीस्थलबाट आवश्यक जानकारीहरु संकलन गरिरहेका छन् ।