प्रदेश सभामा सासंदहरुद्वारा किसानको समस्यामा सरकारको ध्यानकर्षण

प्रदेश सभामा सासंदहरुद्वारा किसानको समस्यामा सरकारको ध्यानकर्षण

धनगढी : प्रदेश सभा को आजको बैठकमा शुन्य समयमा बोल्ने सांसदहरुले किसानका समस्या समाधान गर्न माग गरेका छन् ।

शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सासंद भरत बहादुर खड्काले उखु उत्पादन गर्ने किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य नपाएको र चिनी उद्योगहरुले समयमै किसानलाई भुक्तानी नदिएकोले प्रदेश सरकारले किसानलाई उखुको मुल्य उपलब्ध गराउन पहल गर्न माग गरे । 

नेपाल कम्युुनिष्ट पार्टी नेकपाका सासंद महेशदत्त जोशीले किसानले ब्यवसायिक रुपमा खेती गर्नका लागि सिंचाई सुविधा पाउन नसकेको बताए ।

तराईका जिल्लामा भूमिगत पानी तानेर सिंचाई गर्नका लागि आवश्यक पर्ने विद्युत मिटर नहुँदा किसानहरुले सिंचाई गर्न नपाएकोले नेपाल विद्युत प्राधिकरणबाट किसानहरुलाई सहज रुपमा सिंचाईको प्रयोजनका लागि विद्युत मिटर उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्नपर्ने उनको माग छ । 

राष्ट्रिय जनता पार्टीकी सांसद मालामति राना थारुले उखु खेतमै सुक्ने अवस्था आउन लाग्दा समेत किसानहरुले मुल्य नपाएको भन्दै किसानलाई उखुको मुल्य उपलब्ध गराउन र चिनी उद्योगबाट उखु कटानीको पर्चा प्राप्त गराउन माग गरिन् । 

नेकपाका सासंद शान्ति नेपालीले प्रदेश सरकारले प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भनेपनि जमीन बाँझो राख्ने प्रवृति बढिरहेकोले सरकारले जमीन बाँझो नराखने तर्फ पहल गर्नुपर्ने बताइन । उनले हिमपात र चट्याङका कारण किसानले पालेका भेडाहरु मरेका कारण प्रदेश सरकारको राहत कोषबाट किसानहरुलाई राहत दिइनुपर्ने बताइन । 
 
नेकपाका सासंद सुशिला बुढाथोकीले छाडा छोडिएका चौपायाले किसानको बाली नोक्सान गरिरहेकोले छाडा चौपाया नियन्त्रणमा पहल गर्न स्थानीय सरकारसित प्रदेश सरकारले समन्वय गर्न माग गरिने । उनले छाडा चौपायले बाली नोक्सान गरेका किसानहरुलाई प्रदेश सरकाबाट राहत उपलब्ध हुनपर्ने माग गरिन् । 

बैठकमा नेकपाकै सासंद हर्कबहादुर कुँवरले चट्याङ, हिमपात, असिना र बाढीबाट बाली नोक्सानी भएका किसानहरुले राहत पाउनुपर्ने बताए ।

उनले असार साउनमा र गत आर्थिक बर्षको फागुन चैत महिनामा बालीमा नोक्सानी ब्यहोरेका किसानहरुलाई हालसमम राहत उपलब्ध नगराएको प्रदेश सरकारको आलोचना गर्दै प्राकृतिक प्रकोपबाट पिडीत किसानहरु तुरुन्त राहत दिन माग गरे । 

सासंद कुँवरले शुन्य समयमा उठेका प्रश्नहरुको जवाफ सरकारले हाल सम्म नदिएको बताए । प्रदेश सभाको अर्को बैठक माघ २७ गते बस्ने छ ।