धनगढी उपमहानगरपालिकाद्धारा १ अर्ब ७९ करोड बराबरको बजेट सार्वजनिक

धनगढी उपमहानगरपालिकाद्धारा १ अर्ब ७९ करोड बराबरको बजेट सार्वजनिक

धनगढीः धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्ब ७९ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ। जस मध्ये चालु तर्फ ८० करोड ४९ लाख र पुजीगत खर्च तर्फ ९ करोड ५ लाख बजेट विनियोजन गरिएको छ। 

उपमहानगरपालिकाले आन्तरिक आय बाट १३ करोड ५० लाख, वितिय सामानिकरण २८ करोड ११ लाख, राजश्व बाँडफाँड ५९ करोड २ लाख ९२ हजार, सर्शत अनुदान वाफत ३६ करोड २ लाख गरी बजेट ल्याएको छ । त्यसै गरी सामाजिक सुरक्षा भत्ताको १६ करोड, सडक बोर्ड नेपालको १ करोड, प्रदेश सरकारको समपुरक र विशेष अनुदान बाफत गरी १ अर्ब ७९ करोड ३४ लाख बजेट ल्याएको हो । 

धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटले भौतिक पूर्वाधार विकासमा जोड दिएको छ। उपमहानगरपालीकाले भौतिक पूर्वाधार विकासको लागि ४९ करोड ९८ लाख रकम विनियोजन गरेको छ। यस्तै सामाजिक विकास तर्फ ४३ करोड ६४ लाख ८२ हजार, आर्थिक विकास तर्फ ८ करोड ५ लाख ५९ हजार, वन वातावरण विपद व्यस्थापन तर्फ, ५ करोड ६८ लाख ४२ हजार, सुशासन तथा क्षमता विकास तर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

अन्य विभिन्न कोषहरू, अनुदान, शहरी विकास लगायतका विभिन्न अन्य क्षेहरुको लागि २७ करोड १७ हजार र अन्य चालु खर्च तर्फ ४४ करोड ४७ लाख रकम विनियोजन गरिएको छ।

नगरप्रमुख नृप वडले धनगढी उपमहानगरपालिको सम्वृद्धिका लागी १९ वटा वडा अध्यक्षको सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले सफा र सुन्दर नगर निर्माणका लागी नरवासीको दायित्व पनि महत्त्वपूर्ण रहने बताए । 

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उपमहानगरपालीकाले प्रमुख योजनाका रूपमा अघि सारेको छ। यस्तै सूचना प्रविधि तथा सञ्चार, उद्यम र सहकारीको विकास, पर्यटन प्रवर्द्धन जस्ता कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ । 

धनगढी उपमहानगरपालीकाकी उपप्रमुख सुशीला मिश्र भट्टले बजेट कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याएइएको बताइन्। उनले जनताले दिएका योजनालाई समेटेर बजेट तयार पारिएको बताइन्।