जम्मू– कश्मीरमा लागुऔषध तस्करी बढ्दो, एकै पटक २७ किलो हिरोइन बरामद

जम्मू– कश्मीरमा लागुऔषध तस्करी बढ्दो, एकै पटक २७ किलो हिरोइन बरामद

भारतले पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू– कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन बरामद गरेको छ । हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । पाकिस्तान तर्फबाट आएका तस्करलाई सचेत गराउँदा गराउँदै भारतीय क्षेत्रमा आएपछि भिडन्त भएको बीएसएफले जनाएको छ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमा क्षेत्रमा केही समयदेखि लगातार लागुऔषध हिरोइन बरामद गरिरहेको छ ।

गएको शनिवार जम्मू–कश्मीर प्रहरीले लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने १० जनालाई पक्राउ गर्दा झन्डै ४५ करोड भारतीय रुपैयाँ बराबरको हिरोइन बरामद गरेको थियो । यसअघि मे २३ मा पनि प्रहरीले ५० करोड बराबरको आठ किलो र अप्रिल १४ मा १० किलो लागुपदार्थ बरामद गरेको थियो ।

यस्तै अप्रिल आठ तारिखमा पनि झन्डै ६० करोड भारतीय रुपैयाँ बराबरको लागुपदार्थ बरामद गरेको थियो । लगातार भएका यी बरामदीले कश्मीरका लागि सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आतङ्कवादले चिन्ता थपिएको कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीरबारेमा भारतको कानुन परिवर्तन हुँदा पाकिस्तानले अशान्ति फैलाउन लागुऔषध पठाउन थालेको प्रहरी अधिकारीको अनुमान छ ।

जम्मू–कश्मीरमा लागुऔषध दुर्व्यसनी बढेको र उपचारको खोजीमा अस्पताल आउने दुर्व्यसनी सङ्ख्या पछिल्लो समय निकै बढेको इमान्सको लतरहित केन्द्रका डा. यासिर बरुले बताउनुभयो ।