डोटी : दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार विधि शुरु गरिएको छ । जिल्ला आयुर्वेद कार्यालयले स्वधन चिकित्सा प्रबिधि अर्थात पञ्चकर्म–पुर्णकर्म विधिद्धारा उपचार गर्न सुरु गरेको हो ।
लामो समय देखी उपचार नपाएर घरैमा बस्न बाध्य तथा उपचारका लागि जिल्ला बाहिर र भारत जान बाध्य भएका बाथ रोगीका लागि सो कार्यालयले उक्त विधिबाट उपचार गर्न शुरु गरेपछि उपचार गराउन आउने बिरामीको भिड हुने गरेको कार्यालयका लेखापाल रतन माझीले बताउनुभयो ।
उहाँका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी र बाथरोगका बिरामी छन् । जिल्लामा करिब ३५ देखी ४० प्रतिशत बाथ रोगका बिरामी रहेको बताइएको छ । उक्त विधिबाट उपचार गराउँदा आफनो रोग क्रमिक रूपमा सुधार भएकोे दिपायलस्थित कठायत टोलकी ७० बर्षिया हिरादेबी कठायतले बताउनुभयो ।
बाथ रोगबाट हैरान बनेका गणेश शाहुले पनि आफुले सो विधिबाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर दुख्ने ठिक हुन थालेको बताउनुभयो । स्वधन चिकित्सा प्रबिधि अर्थात उक्त विधि तेल, बिभिन्न जडीबुडी, घृत तथा मह पकाएर बाफद्धारा शरिरमा भएको खराब रगत हटाउने पद्धति हो ।
बाथ रोग बङ्शाणुगत कारणले हुने भएकाले उपचार पश्चात बाथरोग पुर्णतया निको हुने चिकित्सकहरू बताउँछन् । बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखी एक वर्षसम्म समय लाग्न सक्ने चिकित्सकले जनाएका छन् ।