संसदीय उपसमितिले बाह्रवनको आर्थिक कारोबार अध्ययन गर्ने

संसदीय उपसमितिले बाह्रवनको आर्थिक   कारोबार अध्ययन गर्ने

धनगढी : प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गठन गरेको उपसमितिले आज धनगढीमा बाह्रवन साझेदारी वन ब्यवस्थापनको आर्थिक कारोवारको अध्ययन गर्ने निर्णय गरेको छ ।

उपसमितिका सदस्य पूर्णा जोशीका अनुसार आज ब्यवस्थापन समिति, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय धनगढी र सव डिभिजन वन कार्यालय चौमालाका अधिकारीहरुसितको छलफलपछि उपसमितिले आर्थिक कारोवार अधययन गर्ने निर्णय गरेको हो ।

बाह्रवन साझेदारी वन ब्यवस्थापन समितिका तीनवटा बैंकमा रहेका चार वटा खाताहरुको स्टेटमेन्ट अध्ययन गर्ने, सो समितिमा रहेका १६ जना कर्मचारीहरुको नियुक्ति प्रक्रिया अध्ययन गर्न सम्पूर्ण कागजपत्र मगाउने र नीतिगत आदेश वा निर्णयको अध्ययन गर्न तत्कालीन जिल्ला वन कार्यालय कैलालीले गरेका पत्राचारहरु समेत अध्ययन गर्ने निर्णय गरिएको छ ।

उपसमितिले फागुन महिनाको २० गते भित्र बाह्रवन साझेदारी वनको भूगोलले समेटेका चारवटा नगरपालिकाका प्रमुख, २२ वटै वडाका वडा अध्यक्ष, वन समितिका स्थानीय उपसमितिका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा बृहद अन्तरक्रिया गर्ने निर्णय समेत गरेको उपसमिति सदस्य तथा प्रदेश सांसद पूर्णा जोशीले जानकारी दिइन् । 

सो वनमा आर्थिक अनियमितता भएको। कर्मचारी भर्ना नियम अनुसार नभएको र वन भित्र जथाभावी रुखहरु कटान भइरहेको भन्ने जनगुनासोका आधारमा त्यसबारे अध्ययन गर्न उपसमिति गठन गरिएको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले जानकारी दिएको छ ।

उपसमितिले आजको छलफलमा बाह्रवनका अधयक्ष ठक्कर बहादुर शाही, डिभिजन वन कार्यालय धनगढीका प्रमुख, प्रदेश वन निर्देशनालयका निर्देशक, सव डिभिजन कार्यालयका अधिकृत समेतलाई बोलाएको थियो ।