ब्राउन सुगरसहित महिला पक्राउ

ब्राउन सुगरसहित महिला पक्राउ

कैलाली : कैलालीको लम्कीबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय लम्कीले लम्की चुहा नगरपालिका-१ राजीपुरकी तारा शाहीलाई २३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

गुप्ताङ्गमा लुकाई भारतीय सीमाबाट लम्कीतर्फ जाँदै गर्दा ३४ वर्षीया शाहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए। 

शाही केही समययता लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकाका आधारमा खानतलासी गर्दा उक्त परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरिएको जोशीले बताए। 

शाही से.७प. २५५९ नम्बरको स्कुटीमा भारतीय सीमा बजार तिकुनियाँबाट लम्कीतर्फ जाँदै थिइन्। प्रहरीले उक्त स्कुटी समेत बरामद गरेको जनाएको छ। शाहीमाथि थप अनुसन्धान भइरहेको जोशीले बताए। 

पक्राउ परेकी शाही एक वर्षअघि मात्रै विदेशबाट नेपाल फर्किएकी थिइन्। प्रहरीका अनुसार झण्डै ८ वर्ष विदेश बसेकी शाही पछिल्लो समय लागुऔषधको ओसारपसारमा संलग्न थिइन्।